झापा, फागुन १६ । आज बिहानको भूकम्पमा भाग्न खोज्दा सिन्धुपाल्चोक कारागारमा रहेका एक कैदी घाइते भएका छन् ।

जिल्ला प्रहरी सिन्धुपाल्चोकका अनुसार चौतारास्थित जिल्ला कारगारमा पुर्पक्षको लागि थुनामा रहेका भोटेकोशी गाउँपालिका–५ का ३३ वर्षीय स्याङ्बो तामाङ भूकम्प आउँदा आत्तिएर दोश्रो तलाबाट हामफालेका थिए ।
हामफाल्दा लडेर उनको हात भाँचिएको छ । तामाङको चौतारा अस्पतालमा उपचारपछि डिस्चार्ज भइसकेका छन् । ‘यसबाहेक भूकम्पबाट जिल्लाभर मानवीय क्षति भएको खबर छैन, तर भूकम्पले इलाका प्रहरी कार्यालय कोदारीको भवनमा क्षति पुगेको छ, सीमाभेगको तुसारेमा सामान्य पहिरो खसेको छ,’ सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापाले भने ।
मानव बस्तीभन्दा टाढा भएकाले त्यहाँ केही जोखिम नभएको उनको भनाइ छ । शुक्रबार बिहान प्रसिद्ध आमाछ्योमेन अर्थात् भैरवकुण्डसहित सीमाक्षेत्रका गाउँदेखि बजारका स्थानीय फेरि भूकम्प आउने त्रासमा घरबाट बाहिर निस्किएर बसेका थिए ।
भोटेकोशी गाउँपालिका–३ का अध्यक्ष निमासोना शेर्पाले यहाँको तुसारेस्थित भीरमा सुख्खा पहिरो झरेपनि अन्यतिर दुःखद घटना नभएको बताए । ‘यहाँका खण्डहर बनेका घर थप चर्किएका छन्, तर मानवीय र ठूलो क्षति छैन,’ उनले भने ।
काठमाडौं उपत्यका लगायत देशको विभिन्न भूभागमा भूकम्पको धक्का महसुस गरिएको छ। आज बिहान २ः५१ बजे भूकम्पको धक्का महसुस गरिएको हो। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रविन्दु भएर ६.१ रेक्टर स्केलको भूकम्प गएको हो।
भूकम्प जाँदा मानिसहरु रातको समयमै घर बाहिर निस्किएका थिए। पहाडी र तराई दुवै क्षेत्रमा धक्का महसुस गरिएको छ।