झापा, फागुन १५ । नेपाली कांग्रेसको उच्च तहमा पुगेका नेताहरू निष्क्रिय बनेपछि पार्टी कमजोर भएको तल्लो तहका कार्यकर्ताले गुनासो गरेका छन् ।

झापाको शिवसताक्षीमा आयोजित कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै कांग्रेस कार्यकर्ताले पार्टीलाई अवसर पाएका नेताहरूले होइन, संघर्षरत कार्यकर्ताहरूले पार्टी थामेको बताए । नेपाली कांग्रेस शिवसताक्षीले बिहीवार दुधेस्थित सतासीधाम सामुदायिक अध्ययन केन्द्रमा आयोजना गरेको अन्तरक्रियामा हलबाट गुनासो राख्ने अधिकाँसले पार्टी कमजोर हुनुमा नेतृत्व हावी भएको आरोप लगाए । आम कार्यकर्ताको गुनासो सुन्न पार्टीका पूर्व महामन्त्रीसमेत रहेका राष्ट्रिय सभाका संसदीय दलका नेता कृष्णप्रसाद सिटौला दुधे आएका थिए ।

‘पार्टीमा लामो समयदेखि लागेर पनि हामीजस्ता कार्यकर्ताहरू जिम्मेवारीविहीन छौं । तर, पटक–पटक अवसर पाएका नेताहरू झल्को मात्र देखिन्छन्,’ कांग्रेसका पुराना नेता नारायण बजगाईंले भने, “पार्टीको जिम्मेवारीमा पुगेर गुमनाम बनेका नेताका कारण पार्टी शिथिल बन्दै गएको हो ।’ कार्यकर्ताहरूले झापाका प्रभावशाली नेताहरू निष्क्रिय रहेको आरोप लगाए । ‘पूर्व कानुनमन्त्री नरेन्द्रविक्रम नेम्बाङ, पूर्व वनमन्त्री वीरमणि ढकाल कता हुनुहुन्छ ? दुई पटक सांसद बनेका अमृतलाल राजवंशी तेस्रोे पटक टिकट नपाउँदा पार्टी नै छोडेर एमाले हुनुभयो । उहाँहरूलाई पार्टीले उतिबेला न्याय गरेर अवसर दियो । उहाँहरु अघि बढ्नुभयो । तर अहिले कांग्रेस कमजोर बनिरहेका बेला उनीहरू गायब छन् । आखिर पार्टीले के पायो ?’बजगाईँले गुनासो गरे ।
कार्यकर्ताहरूको अर्को गुनासो पार्टीले संघर्ष गरेका पुराना नेता–कार्यकर्ताको बेवास्ता गरेको विषयमा रह्यो । ‘प्रतिबन्धित अवस्थामा पार्टी बचाएका केदारनाथ काफ्ले अहिले जीवन–मरणको दोसाँधमा छन् । पार्टीले उनको खोजी गरेको छैन । उपचारमा सहयोग गरेको छैन,’ बजगाईँले भने । उनले यसो भनिरहँदा हलमा भएका करिव ५ सयले ताली बजाए ।

पूर्वमहामन्त्री सिटौला र पार्टीका झापा सभापति निन्द्राबाट व्युझिए झै झसङ्ग भए । ‘जसले पार्टीका लागि जीवन समर्पण गरे, उनीहरू उपेक्षित छन् । लक्ष्मीलाल देवले आफ्नो पूरा जीवन पार्टीलाई दिए अन्त्यमा पार्टीले उनको पार्थिव शरीरमा झन्डा ओढाइदिएर मात्र जिम्मेवारी पूरा गर्यो । के यतिका लागि हामी कांग्रेसमा लाग्नु हो त कृष्ण दाई ?’ बजगाइँले भने ।
‘सुकुम्बासी समस्या समाधान आयोगको दुईपटकसम्म झापा उपाध्यक्ष बनेका साविक धरमपुरका चन्द्रवीर नेमाङ निष्क्रिय छन् । शिवगञ्ज गाविसका तत्कालीन सचिव देवीप्रसाद राजवंशीले अहिलेसम्म वडा सदस्य पदसमेत पाएका छैनन् । प्रतिबन्धित अवस्थामा तत्कालीन पाँचगाछी गाविसका सचिव रहेका महेश्वर दुलाल ले २०७९ सालमा पाएको वडा अध्यक्ष पदको टिकट पार्टीले खोस्यो । पार्टीले गर्ने न्याय यहि हो कृष्ण दाई ? तत्कालीन सतासीधाम गाविसको पार्टी सभापति ज्ञानेन्द्रबहादुर न्यौपानेको इतिहास कस्ले बुझेको छ ? म आफै सचिव थिए । तर, हामी भुइँमान्छे । न त नेतृत्वमा न त संसदीय जिम्मेवारी मै रहन सक्यौं,’ बजगाईले गुनासो गरे । गुनासो सुनाउन आयोजकले शून्य समयको तीन मिनेटका लागि दिएको समय बजगाईले १५ मिनेट ४६ सेकेन्ड खर्च गरेर गुनासो सुनाए । यद्धपि हल सुनसान थियो ।

कार्यक्रममा बजगाईले सिटौलासामु गुनासो गरिरहँदा हल चकमन्न बन्यो । मानौ बजगाईको भावमा सबैको समर्थन थियो । कतिपयले भने,‘नारायण बजगाईँजीले तितो तर सत्य कुरो भन्नुभयो । कतिपयको त डकार पनि अमिलो आयो होला ।’
कार्यकर्ताहरूले पार्टीमा गुटबन्दी चर्किएको आरोप लगाए ।

‘झापामा कांग्रेसभित्र तीनवटा गुट छन् । यो गुटबन्दी अन्त्य गर्न सक्ने भनेका कृष्णप्रसाद सिटौला नै हुनुहुन्छ,’ बजगाईंले भने, ‘तपाईं आफैं लाग्नुभयो भने गुटबन्दीको अन्त्य सम्भव छ ।’ तर कुन कुन गुट अर्थात झापाका कुन नेताले गुटबन्दी गर्छन् भन्ने कसैले खुलाउन चाहेन ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्