बिर्तामोड, फागुन १९ । बिर्तामोड नगरपालिकामा सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले आजदेखि कार्यभार सम्हालेका छन् ।

उनी कागेश्वरी मनोहरा नगरपालिका काठमाडौंदेखि सरुवा भएर बिर्तामोड आएका हुन् । प्रशासकीय अधिकृत मिश्रलाई नगरका कार्यबाहक नगरप्रमुख नगेन्द्रप्रसाद संग्रौला, प्रवक्ता वडा नम्बर १ का वडाध्यक्ष अग्निप्रसाद पाण्डे, वडा नम्बर ६ का वडाध्यक्ष सूर्यप्रसाद कन्दङ्वा, शिक्षा शाखा प्रमुख तिलचन भण्डारी, कार्यपालिका सदस्य जगतबन्धु राजवंशी, निर्मला ल्वागुनलगायत जनप्रतिनिधि र कर्मचारीहरुले खादा र टिका लगाइदिएर स्वागत गरेका छन् ।
स्वागत कार्यक्रममा बोल्दै कार्यबाहक नगर प्रमुख संग्रौलाले कर्मचारीलाई राजनीति नगर्न र कामसंगै अनुशासनमा ध्यान पुर्याउन निर्देशन दिए । सबैले तहगत जिम्मेवारी पुरा गर्नु पर्नेमा जोड दिँदै उनले प्रक्रियागत ढंगले आएका कामहरु कुनै पनि बहानामा नरोक्न सुझाब दिए ।
यसैगरी कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत मिश्रले विकासको काममा पर्खेर नबस्ने प्रतिवद्धता व्यक्त गरे ।जनप्रतिनिधि र प्रशासनबिच नङ र मासुको सम्बन्ध हुनु पर्नेमा जोड दिँदै उनले कर्मचारीलाई कुनै समस्या भए आफूसंग आएर कुरा गर्न आग्रह गरे । दैनिक सेवा प्रवाहमा कुनै पनि समस्या हुन नहुने भन्दै उनले यहाँका समस्यासंग आफू परिचित रहेको पनि बताए ।
यस्तै वडा नम्बर ६ का वडाध्यक्ष कन्दङ्वाले जनप्रतिनिधि र कर्मचारीले समन्वय गरेर बिर्तामोडमा उदाहरणीय ढंगले काम गर्नु पर्ने बताए । उनले कर्मचारीमा कुनै समस्या भए कार्यपालिकामा राखेर छलफल गर्नेसमेत बताए । यस्तै शिक्षा शाखा प्रमुख तिलचन भण्डारीले बिर्तामोडको समृद्धिको लागि प्रमुख प्रशासकीयलाई पूर्णरुपमा सहयोग गरेर अघि बढ्ने प्रतिबद्धता जनाए ।
प्रमुख प्रशासकीय अधिकृत मिश्रसंग यसअघि जिल्ला प्रशासन कार्यालय, जिल्ला विकास समिति, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, वाणिज्य विभाग, वीर अस्पताललगायतका कार्यालयमा काम गरेको लामो अनुभव छ ।