झापा, फागुन २२ । उदयपुरको त्रियुगा नगरपालिकामा पिकअप भेनको ठक्करबाट दिदीबहिनीको मृत्यु भएको छ ।

आज साँझ अन्दाजी ७ः२० बजे उदयपुर त्रियुगा नगरपालिका वडा नम्बर ३ हात्तीमारामा मेनरोडबाट शाखा रोडतर्फ जाँदै गरेको प्र १–०५–००१ च ००९२ नम्बरको पिकअप भेनले घर अगाडी सडक पेटीमा बसेर चटपटे खाइरहेका दिदीबहिनी सप्तरी पटेर्वा घर भई हाल त्रियुगा १२ दुर्गा टोल बस्दै आएका ललन दासकी छोरी वर्ष अन्दाजी १४ की अनुकुमारी दास र उनकी बहिनी वर्ष १२ की देवीकुमारी दासलाई ठक्कर दिएको थियो ।
अनुकुमारीको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा मृत्यु भएको हो भने देवीकुमारीको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । चालक उदयपुर त्रियुगा ९ बस्ने १८ वर्षीय निर्जल कटुवाल र गाडी जिल्ला प्रहरी कार्यालय उदयपुरको नियन्त्रणमा रहेको जनाइएको छ ।