झापा, फागुन २४ । काँकरभिट्टामा आजबाट सुरु भएको पाँचौ मेचीनगर गोल्डकपमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरले विजयी सुरुवात गरेको छ ।

काँकरभिट्टा खेलमैदानमा भएको उद्घाटन खेलमा पाहुना टोली जर्जियन फुटबल क्लब भारतलाई ४– २ गोल अन्तरले पराजित गर्दै आयोजकले सेमिफाइनलको यात्रा तय गरेको हो ।
खेलको २८ औँ मिनेटमा जर्जियन खेलाडीले टिमका लागि पहिलो गोल गरे । जर्जियनका खेलाडी कुञ्जमान थापालाई काँकरभिट्टाका सञ्जय लिम्बूले फाउल गरेपछि पाएको फ्रिकिकलाई सत्यम शर्माले शानदार गोलमा परिणत गरेका थिए । पहिलो हाफको अतिरिक्त समयमा काँकरभिट्टाले गोल गर्दै खेललाई बराबरीको अवस्थामा ल्यायो । जर्जियनको डिएरियामा काँकरभिट्टाका खेलाडीलाई फाउल गरेपछि पाएको पेनाल्टीलाई काँकरभिट्टाका निशान लिम्बूले गोल गर्दै खेललाई लयमा फर्काएका थिए ।
खेलको पचासौँ मिनेटमा काँकरभिट्टाका लागि विदेशी खेलाडी इब्राहिमले गोल गर्दै टिमलाई थप अग्रता दिलाए । उनले कप्तान खमिरगिल्सन कन्दङ्वाको पासलाई सदुपयोग गर्दै हेडरमार्फत सुन्दर गोल गरेका थिए । पाहुना टोलीलाई दबाबमा राख्दै एकपछि अर्काे गोल गरेको काँकरभिट्टाका तर्फबाट खेलको ६१ औँ मिनेटमा निशान लिम्बूले व्यक्तिगत दोस्रो र टिमका लागि तेस्रो गोल गरेका थिए ।
खेलको ६५ औँ मिनेटमा काँकरभिट्टाका तर्फबाट विदेशी खेलाडी रोर्बटले गोल गरे । खेलको इन्जुरी समयमा जर्जियनका सत्यम शर्माले थप एक गोल गरे पनि जितका लागि पर्याप्त हुन सकेन ।
खेलको तेस्रो मिनेटमा काँकरभिट्टाका नेशन लिम्बूको प्रहार क्रसबार नजिकैबाट बाहिरिएको थियो । चौथो मिनेटमा विदेशी खेलाडी इब्राहिमको प्रहार गोलरक्षक सचिन सुव्बाले बिफल पारिदिए । खेलको ३० औँ मिनेटमा काँकरभिट्टाका इब्राहिमले गोल गर्ने सुन्दर मौका गुमाए । ३७ औँ मिनेटका काँकरभिट्टाका निशान लिम्बूको प्रहारले जाली चुम्न सकेन । ६७ औं मिनेटमा जर्जियनका नरेन्द्र राईको प्रहार काँकरभिट्टाका गोलरक्षक विश्वास चौधरीले बचाए ।
खेलको ६८ औँ मिनेटमा जर्जियन खेलाडी सत्यम शर्माको प्रहार बारमाथिबाट बाहिरियो । ७१ औँ मिनेटमा जर्जियन खेलाडी देवासिस राईको प्रहारलाई काँकरभिट्टाका गोलरक्षक चौधरीले बिफल बनाए । ८३ औँ मिनेटमा जर्जियनका सत्यम शर्माको प्रहारले समेत गोलपोष्टको दिशा लिन नसक्दा निराश भएर घर फर्कनु परेको हो ।
उद्घाटन खेलको प्लेयर अफ द म्याच काँकरभिट्टाका निशान लिम्बू घोषित भए । उनले नगद ११ हजार र ट्रफी प्राप्त गरे । आइतबारको खेलमा ए डिभिजन च्याम्पियन चर्च व्वाइज र एनएसएल टिम झापा एफसीबिच प्रतिस्पर्धा हुने टे«निङ सेन्टरका अध्यक्ष नवराज ओलीले बताए ।
चैत २ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका विजेता टिमले नगद १० लाख र ट्रफी तथा उपविजेता टिमले नगद ५ लाख र टफ्री प्राप्त गर्नेछन् । यसैगरी, प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले नगद ५१ हजार, सर्वाधिक गोलकर्ताले २५ हजार, उत्कृष्ट कोच र उत्कृष्ट गोलरक्षकले नगद २१ हजार, उदीयमान खेलाडीले ११ हजार प्राप्त गर्नेछन् ।
विभिन्न जातजातिको झाँकीसहित बजार परिक्रमा गरेर खेलमैदानमा आएका अतिथि तथा दर्शकहरुका बिच नेपाली कांग्रेस कोशी प्रदेशका प्रमुख सचेतक तथा प्रदेश सभा सदस्य गोपाल तामाङले प्रतियोगिता उद्घाटन गरेका थिए ।