झापा, फागुन २६ । झापा बाह्रदशीको चर्चित राजेश हत्याकाण्डका मुख्य अभियुक्त गणेश राजवंशीले विदेशबाट आएर अदालतसमक्ष आत्मसमर्पण गरेका छन् ।

हत्या गरेर दुबई भागेका २० वर्षीय गुड्डु अर्थात गणेश भनिने राहुल राजवंशीले गत मंसिर १० गते झापा जिल्ला अदालतमा आत्मसमर्पण गरेका हुन् । अदालतले उनलाई पुर्पक्षको लागि झापा कारागार चलान गरेको छ । प्रहरीले यसअघि राजेशको हत्यामा संलग्न मुना मेचे राजवंशी , उनका देवर समीर र भतिज नरेशलाई पक्राउ गरी कार्वाही अघि बढाएको थियो ।
दुबईमै पक्राउ गर्ने प्रयास भइरहेपछि उनले घर फर्किएर आत्मसमर्पण गरेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताए । गत जेठ १५ गते राति हजामलाई हत्या गरेर बिरिङ खोलाको बगरमा गाडिएको थियो । हत्या भएको करिव ४ महिनापछि गत असोज २० गते साँझ उनको कंकाल भेटिएको थियो ।