झापा, चैत १ । होली पर्वका दिन खुकुरी प्रहारबाट दुईजना घाइते भएका छन् । पाँचथर र सुनसरीमा खुकुरी प्रहार भएको हो ।

हिजो साँझ ६ बजे पाँचथरको हिलिहाङ–२ माझीधारामा रहेको हिमालय कन्स्ट्रक्सनमा काम गर्ने ताप्लेजुङ मेरिङदेन ३ बस्ने २८ वर्षीय रेण्डु शेर्पाले मादक पदार्थ सेवन गरी होहल्ला गरिरहेका थिए । सोही कन्स्ट्रक्सनमा काम गर्ने मिक्वाखोला १ बस्ने २७ वर्षीय गोपाल कार्कीले सम्झाई बुझाई गर्दा शेर्पाले एक्कासि धारिलो हतियार खुकरी प्रहार गरेका थिए ।
कार्कीको बायाँ हातको बुढी औला र चोर औलामा काटिएर उनी घाइते भएका हुन् । घाइतेलाई जिल्ला अस्पताल ताप्लेजुङमा सामान्य उपचारपश्चात् थप उपचारको लागि झापातर्फ ल्याइएको छ । खुकुरी प्रहार गर्ने शेर्पालाई खुकुरीसहित प्रहरीले नियन्त्रणमा लिएको छ ।
उता गएराति १०.४५ बजे सुनसरी रामधुनी नगरपालिका ७ चौसठी बिघा बस्ने ४० वर्षीय भद्रबहादुर भुजेल खुकुरी प्रहारबाट घाइते भएका छन् । छिमेकी लालबहादुर लिम्बूको आँगनमा खुकुरीसहित लडी बेहोस अवस्थामा उनी फेला परेका थिए ।
अस्थायी प्रहरी पोष्ट पंचायनबाट प्रहरी टोली खटिएर खुकुरी नियन्त्रणमा लिई घाइतेलाई उपचारको लागि बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठन धरान पठाएको छ । टाउकोमा गहिरो चोट लागेका भुजेलको अबस्था गम्भीर रहेको बताइएको छ ।