झापा , चैत १२ । सरकारले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने गरेको निर्णयको विरुद्धमा आन्दोलन शुरु भएको छ ।

यसक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी कनकाई नगर समितिले आज साँझ झापाको कन्काईमा विरोध कार्यक्रम गर्ने भएको छ । टर्च बालेर सुरुंगा बजार परिक्रमा गर्ने विरोध कार्यक्रम रास्वपाले गर्ने भएको हो ।
उता आज बिहान भोजपुर बहुमुखी क्याम्पसका विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका छन् । भोजपुर क्याम्पसका स्ववियु सभापति सोभित तामाङको नेतृत्वमा विद्यार्थीहरुले विरोध र्याली निकालेका थिए ।
सरकारले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई हिजो साँझ पदबाट हटाउने निर्णय गरेको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको प्रस्तावमा मन्त्रिपरिषद्को हिजो साँझ बसेको बैठकले घिसिङलाई हटाउने निर्णय गरेको हो ।