झापा, चैत २१ । गत पुस १६ गते इटहरी उप महानगरपालिकाको गेट अगाडि बम राखेको भन्दै आतंक फैलाउने २ जना पक्राउ परेका छन् । प्रहरीको विशेष टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।


पक्राउ पर्नेमा झापाको कन्काई नगरपालिका– ८ का ४६ वर्षीय सञ्जय भनिने खगेन्द्र खरेल र लक्ष्मीदेवी थापा छन् । इटहरीमा बम राखेको आतंक फैलाएर भारतमा लुकीछिपी बसेका खरेल र थापालाई भारतमा लुकिछिपी बसेको अवस्थामा प्रहरीले केही दिनअघि पक्राउ गरेको हो ।

भारतबाट पक्राउ गरेर बुधवार रातिमात्र सुनसरी भान्टाबारी नाकाबाट नेपाल ल्याइएको प्रहरीले जनाएको छ । पक्राउ परेका खरेलले पुस १६ गते इटहरी उपमहानगरको गेट अगाडि र सुनसरी र मोरङ जोड्ने बुढीखोलाको पुलमा बम राखेको हल्ला फिजाएका थिए । प्रहरीका अनुसार खरेलले नै विस्फोटक पदार्थ राखेको भन्दै प्रहरीलाई म्यासेजमार्फत खबर गरेका थिए ।
म्यासेज आएपछि प्रहरी पुग्दा शङ्कास्पद वस्तु फेला परेको थियो । शंकास्पद वस्तु निष्क्रिय गर्न पुगेको नेपाली सेनाको टोलीले यी दुवै स्थानमा राखिएका वस्तु बम नभएको पत्ता लगाएको थियो । बम भनेर हल्ला फैलाएको आरोपमा आरोपमा प्रहरीको अनुसन्धान ब्युरोले दुई जनालाई पक्राउ गरेको हो ।

प्रहरीले खरेल र थापा सुनसरी र झापामा पटक पटक विष्फोट पदार्थ राख्ने र हल्ला फैलाउने कार्यमा संलग्न रहेको प्रदेश प्रहरी कार्यालय कोशीका प्रहरी वरिष्ठ उपरीक्षक भीम दाहालले बताए ।

दाहालका अनुसार पुस १६ गते भने खरेलले म्यासेजमार्फत बम राखेको भनेर प्रहरीलाई नै खबर गरेका थिए । खबर पछि प्रहरीको टोली इटहरी उप महानगरपालिका र बुढी खोला पुग्दा शङ्कास्पद वस्तु फेला परेको थियो । यसरी फेला परेका शङ्कास्पद वस्तु बम नभई आतङ्क सिर्जना गर्नलाई बनाइएको सामग्री रहेको पुष्टि भएको थियो । यी दुई स्थानमा बम राखेको सूचना दिएर खरेल भागेर भारत पुगेका थिए । प्रदेश प्रहरी कार्यालय कोशीका प्रहरी बरिष्ठ उपरीक्षक दाहालले घटनामा संलग्न रहेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरिएको बताए । उनले भने, ‘उनीहरूलाई प्रहरीले पक्राउ गरेर ल्याएको छ ।’
खरेल २०७६ वैशाख २८ गते गोर्खा जनमुक्ति पार्टीको नाममा झापाको कनकाई नदी पुलमा बम राखेको आरोपमा पक्राउ परेका थिए । २ वर्ष पाँच महिना कैदपछि झापा कारागारबाट उनी छुटेका थिए ।

२०७८ माघ माघ ९ गते बिर्तामोडस्थित पश्चिम बस स्टेन्ड र माघ १३ गते दमकस्थित सिवान चर्चमा हिमाल सुरक्षा परिषद्को पर्चासहित प्रेसरकुकर बम राखेको घटनामा उनी पक्राउ परेका थिए । बम राखेर जनजीवन त्रसित पार्ने कार्यमा उनीहरूकै संलग्नता देखिएपछि जिल्ला प्रहरी कार्यालयले उनीहरूलाई पक्राउ गरेको थियो ।

जेलबाट छुटेलगत्तै खगेन्द्रले विभिन्न नक्कली फेसबुक आइडी र ग्रुपको निर्माण गरेर संवैधानिक राजतन्त्र, हिन्दू राष्ट्र, एमसीसी खारेजको माग राख्दै प्रचार सामग्री बनाएर प्रचार गरेका थिए । यसपछि उनले हिमाल सुरक्षा परिषद् नामक पार्टी नामकरण गरेर बम राखेको हल्ला फिजाउँदै आएका थिए ।

हिमाल सुरक्षा परिषदका नाममा उनले २०७८ चैत १४ इटहरी उपमहानगर– २ स्थित नवजागृति टोलको एक घरमा सुतली बम विस्फोट गराएका थिए ।

सो घटनामा खरेल पुनः पक्राउ परेका थिए । सुतली बम विस्फोटको घटनामा अहिले पक्राउ परेकी थापाको पनि संलग्नता देखिएको थियो । थापाकै घरमा राखेको सुतली बम विस्फोट हुँदा रविन थापा र लमजुङका शेरजंग गुरुङ घाइते भएका थिए । यो घटनामा इटहरी प्रहरीले खरेलसहित ४ जनालाई पक्राउ गरी कारागार चलान गरेको थियो ।

कारागारबाट छुटेपछि खरेल आफैले पुस १६ गते इटहरी उपमहानगरपालिका अगाडि र बुढी खोला पुलनजिक बम राखेको भन्दै आतंक फैलाएका थिए । पक्राउ परेका खरेल र थापासँग थप अनुसन्धान भइरहेको दाहालले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्