झापा, चैत २२ । पाँचथरको कुम्मायक र फिदिममा भीषण डढेलो लाग्दा एकको मृत्यु हुनुका साथै पाँचजना घाइते भएका छन् । आगलागीबाट ७ वटा कटेरो जलेर नष्ट भएका छन् भने १० वटा चौपाया मरेका छन् ।

हिजो दिउँसो करिव ३ बजेतिर कुम्मायक गाउँपालिका वडा नं १ र ३ मा रहेको खाल्डे सामुदायिक वनमा अचानक आगलागी भएको हो ।
आगलागीबाट कुम्मायक ३ बस्ने २२ वर्षीया प्रतिमा सम्बाहाम्फेको मृत्यु भएको छ । प्रतिमालाई उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजादै गर्दा धनकुटाको भेडेटारमा ल्याई पु¥याउँदा मृत्यु भएको हो । त्यस्तै २८ वर्षीया सपना सम्बाहाम्फे उनकी छोरी ११ वर्षीया सिवाना सम्बाहाम्फे र ६० वर्षीया निरमाया सम्बाहाम्फे घाइते भएका छन् । उनीहरुको धरानमै उपचार भइरहेको छ ।त्यस्तै कुम्मायक–१ खाल्डेमा लागेको आगो निभाउन गएका सोही स्थानका ३१ वर्षीय खगेन्द्र विश्वकर्मा लडेर घाइते भएका छन् ।
आगलागीबाट लाखौंको क्षति भएको छ । कुम्मायक ३ बस्ने रामकृष्ण कार्कीको मान्छे नबस्ने घर १, कटेरो १, जगत कार्कीको मान्छे नबस्ने घर १, कटेरो १, टिकाबहादुर कार्कीको मान्छे नबस्ने खोल्मा १, भिमबहादुर थापाको घर १,डम्बरबहादुर कार्कीको घर १, कटेरो १ , गोरु १ ,बाख्रा ९ मोहनबहादुर कार्कीको घर १, कटेरो १ , भिममाया याक्सोको किचन १, शौचालय १ जलेर नष्ट भएका छन् । उक्त आगलागी सशस्त्र प्रहरी , नेपाल प्रहरी , फिदिम नगरपालिकाको दमकल र स्थानीयबासीको सहयोगमा निभाउने कार्य भइरहेको छ । जंगलमा लागेको आगो गाउँ बस्तीमा पसेको हो ।

त्यस्तै सोही समयमा फिदिम– १३ जौबारीस्थित रानी सामुदायिक वनमा पनि डढेलो लागेको छ । आगलागीबाट मदन राईकी श्रीमती अन्दाजी ४७ वर्षीया उषा नेम्वाङ राई घाइते भएकी छन् । वनबाट दाउरा बोकी आउने क्रममा अचानक आगोमा लडेर उनको शरीरको विभिन्न भाग जलेको छ । घाइतेलाई उपचारको लागि जिल्ला अस्पताल फिदिम पठाइएको छ । उक्त आगो प्रहरी र स्थानीयको सहयोगमा निभाइएको थियो । ।