झापा,चैत २९ । चैत १५ गतेको राजावादी समूहको प्रदर्शनमा हिंसा भड्काएको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अनुसन्धानका लागि अदालतले प्रहरीलाई १२ दिनको म्याद दिएको छ ।

शुक्रबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले राज्यविरुद्धको कसुरमा प्रसाईंमाथि अनुसन्धान गर्न १२ दिनको म्याद दिएको सूचना अधिकारी दीपककुमार श्रेष्ठले बताए ।
त्यस्तै प्रसाईंसँगै पक्राउ परेका उनका अंगरक्षक दीपक खड्काविरुद्ध पनि १२ दिनको म्याद थप भएको छ । १५ चैतको प्रदर्शनका नाममा हिंसा भड्काएर उनी फरार रहेकोमा बिहीबार प्रहरीको विशेष ब्युरोले आसाममा प्रकाउ गरी आज बिहान उनलाई भद्रपुर ल्याएको थियो । त्यसपछि उनलाई जहाजबाट काठमाडौं लगिएको हो ।
प्रसाईंले अगुवाइ गरेर चैत ४ गते राष्ट्रिय पञ्चायतका पूर्व अध्यक्ष राप्रपाका नेता नवराज सुवेदीको नेतृत्वमा राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समिति गठन गरिएको थियो । सुवेदीले उनै प्रसाईंलाई जनआन्दोलन समितिको कमान्डर पनि घोषणा गरेका थिए ।
चैत १५ गते प्रसाईंले नै भाँडभैलो मच्चाएपछि राजावादीहरूको प्रदर्शन हिंस्रक बनेको थियो । प्रदर्शनका क्रममा एक सञ्चारकर्मीसहित २ जनाको मृत्यु भएको थियो । साथै दर्जनौँ गाडीमा आगजनी र व्यक्तिगत तथा सरकारी सम्पत्तिमा समेत आगजनी भएको थियो ।