झापा, चैत ३० । विभिन्न क्षेत्रका ११४ जनाले मिलेर झापाको बिर्तामोडमा बिर्तामोड सञ्जीवनी इन्भेष्टमेन्ट कम्पनी स्थापना गरेका छन् ।

देशका विभिन्न क्षेत्रमा ख्यातिप्राप्त उद्यमी , व्यवसायी , प्राध्यापक तथा वित्तीय क्षेत्रमा अनुभवी व्यक्तिहरुको समूह मिलेर कम्पनी ऐन २०६३ को दफा उपदफा १ बमोजिम कम्पनी रजिष्ट्रारको कार्यालयमा बिर्तामोड संजीवनी इन्भेष्टमेन्ट कम्पनी लिमिटेड नाम कम्पनी दर्ता गरी कारोबार शुरु गर्ने भएका हुन् ।
कम्पनीको उद्घाटन आज कोशी प्रदेश सरकारका खानेपानी ,सिंचाई तथा ऊर्जामन्त्री एकराज कार्कीले गर्ने भएका छन् । कम्पनीको मुख्य कार्यालय बिर्तामोड–४स्थित भद्रपुर रोडमा रहेको कम्पनीका अध्यक्ष यामकुमार चुडालले जानकारी दिए । कम्पनी उद्घाटनको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमार्फत कम्पनीको अधिकृत पूँजी २० करोड, जारी पूँजी ६ करोड ६० लाख र चुक्ता पूँजी ५ करोड २८ लाख रहेको जानकारी दिइयो । आगामी वर्षहरुमा राइट शेयर र आईपीओमार्फत कम्पनीको पूँजी वृद्धि गर्दै लैजाने र कम्पनीलाई सवल र सक्षम बनाइ पूर्वको एक स्थापित कम्पनीको रुपमा स्थापना गर्न कम्पनीले विभिन्न उद्देश्य लिएको उनले जानकारी दिए ।
बिर्तामोड सञ्जीवनी इन्भेष्टमेन्ट कम्पनीले बैंक तथा वित्तीय संस्था साथै बैंक तथा विभिन्न कम्पनीबाट निष्काशित शेयर एवम् अन्य मुनाफामूलक क्षेत्र, जग्गा, जमीन हाउजिङ्ग परियोजना अपार्टमेन्ट तथा व्यापारिक कम्प्लेक्सहरु, भौतिक पूर्वाधार निर्माण, ठेक्का पट्टा, जलविद्युत् परियोजना एवम् विकासका परियोजनाहरुमा लगानी गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो । आयात, निर्यात, शैक्षिक, स्वास्थ्य, शैक्षिक, हस्तकला, सुरक्षा, अनुसन्धान, बजार प्रवर्द्धनलगायतका क्षेत्रहरु, विभिन्न कृषिसँग सम्बन्धित क्षेत्रमा लगानी गर्ने, विभिन्न संघ–संस्था, कम्पनी तथा अन्य संगठित संस्थाहरुले माग गर्ने बोलपत्रमा सहभागी भई ठेक्कापट्टाको कार्य गर्ने आदि कम्पनीको उद्देश्य रहेको छ ।
कम्पनीका अध्यक्ष यामकुमार चुडालको अध्यक्षतामा भएको पत्रकार सम्मेलन कम्पनी सचिव दिनेशकुमार सुवेदीले सञ्चालन गरेका थिए । कार्यक्रममा संचालक सदस्यहरु कृष्णप्रसाद खरेल , शिवबहादुर दाहाल , मिलन कोइराला , कोपिला बजगाँई , तारा बसनेत , शिवबहादुर कट्वाल, नगेन्द्रप्रसाद ओलीलगायतको उपस्थिति रहेको थियो ।