झापा , बैशाख २ । चट्याङले लागेर ओखलढुंगामा तीनजना घाइते भएका छन् भने तीनवटा चौपाया मरेका छन् ।

आज दिउँसो ३ बजे ओखलढुंगा चम्पादेवी गाउँपालिका– ९ डल्ली डाँडास्थित हरि तामाङको होटलमा खाजा खाँदै गरेको अवस्थामा चट्याङको झिल्काले लागेर दुईजना घाइते भएका छन् । घाइते हुनेहरुमा ओखलढुंगा चम्पादेवी –८ विलन्दु वस्ने ३१ वर्षीय चुत्रवहादुर दर्जी ,वडा नं ५ पुरानो गाउँ बस्ने १६ वर्षीया सबिना लाखे रहेका छन् ।उनीहरुलाई चम्पादेवी– ९ मिश्र भन्ज्याङस्थित स्वास्थ्य चौकी लगि उपचार भइरहेको छ ।

त्यस्तै आज दिउँसो ३ बजे चम्पादेवी– ९ खानीगाउँ बस्ने लोकबहादुर मगरको घरदेखि पूर्व आफ्नै बारीमा बाख्राको खोरमा चट्याङ पर्दा दुई वटा बाख्रा , एउटा बोका र तीन वटा भाले मरेका छन् । बाख्राको खोरमा भएको ४० वाटको सोलार प्यानल र १२ भोल्टको ब्याट्री समेतमा क्षति पुगेको छ ।

त्यस्तै खोटाङ दिक्तेलरुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ बस्ने मनोज खत्रीका छोरा ९ बर्षिय मनिश खत्रीले आफ्नै घरभित्र मोबाईल हेरिरहेको अबस्थामा अचानक परेको चट्याङले लागेर उनी घाइते भएका छन् । उनलाई उपचारका लागि जिल्ला अस्पताल खोटाङ लगिएको छ ।

त्यस्तै हिजो साँझ पानीसंगै आएको हावाहुरीले ओखलढुंगा मानेभज्याङ गाउँपालिका – ७ हर्कपुर बस्ने खडानन्द गौतमको ढुंगा र माटोको गारो ,सिमेन्टले प्लस्टर गरेको र जस्ताको छानो भएको २ तले घरको छानो उडाएको छ । घरको छानो पूर्णरुपमा उडाएर घरभित्र रहेको अन्नपात पानीले भिज्दा ३ लाख बराबरको क्षति भएको छ ।

त्यस्तै हिजो साँझ आएको हावाहुरीले तेह्रथम छथर गाउँपालिका वडा न.३ हिमाङदिनस्थित शिव आधारभूत विद्यालयको ढुंगा माटो र सिमेन्टले प्लस्टर गरेको १ तले ४ कोठे शौचालयको छाना उडाएको छ । जसबाट १ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्