झापा, बैशाख १३ । सरकार र नेपाल शिक्षक महासंघका प्रतिनिधिहरूबीचको वार्ता निष्कर्षबिहीन भएको छ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा आज बिहान भएको बैठकमा सरकारको तर्फबाट नवनियुक्त शिक्षा विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त, शिक्षा सचिव दिपक काफ्ले, नेपाल शिक्षक महासंघको तर्फबाट अध्यक्ष लक्ष्मी किशोर सुवेदीको नेतृत्वमा पदाधिकारी र आन्दोलनरत शिक्षकहरू सहभागी थिए।

बैठकपश्चात् अध्यक्ष सुवेदीले पुनः छलफल र वार्ता गर्ने सहमति भएको बताए। उनले वार्ता र आन्दोलन सँगसँगै जाने बताए।
सुवेदीले भने, ‘अहिले नेपाल शिक्षक महासंघ अहिले आन्दोलनमा छ। आन्दोलनका क्रममा हामीले उठाएका विषयवस्तुको बारेमा शिक्षा मन्त्रीको उपस्थितिमा छलफल भयो। छलफल र संवादलाई निरन्तरता दिने निर्णय भयो। दुई पक्षीय सहमतिमा फेरि बैठक बस्छ।’ उनले अब बैठक कहिले बस्छ भन्ने टुंगो लाग्न बाँकी रहेको बताए।

सरकारले वार्ताका लागि आह्वान गरेसँगै आन्दोलनरत शिक्षकहरू सिंहदरबार गएका थिए । शुक्रबार शिक्षा विज्ञान तथा प्रविधि मन्त्री पन्तले शिक्षकहरूलाई मागमा लचिलो भएर वार्तामा बस्न र समस्या समाधानको उपाय खोज्न आग्रह गरेका थिए। शिक्षकहरुले सरकारसमक्ष आफूहरूले जायज माग राखेकाले सबै माग पूरा हुनुपर्ने अडान राखेका छन्। विद्यालय शिक्षा ऐनको माग गर्दै गत चैत २० गतेदेखि शिक्षकहरु काठमाडौंमा आन्दोलन गर्दै आएका छन्।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्