झापा, बैशाख १८ । चितवनबाट झापा आउँदै गरेको स्कोरपियो उदयपुरको कटारीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन ।

आज दिउँसो ४ः १० बजे मदन भण्डारी लोकमार्गअन्तर्गत कटारी नगरपालिका–६ स्थित सोमबारेमा मे १ च ३०४० नम्बरको स्कोरपियो आफै अनियन्त्रित भई सडक साईडमा लगाएको फलामको ट्रस्ट बेरियरमा ठोक्किएर दुर्घटना भएको थियो । गाडीमा सवार चालकसहित सातै जना झापाका बासिन्दा हुन् । घटनास्थल पुगेको इलाका प्रहरी कार्यालय कटारीको टोलीले घाइतेहरूलाई उपचारका लागि प्रादेशिक अस्पताल कटारी पठाएको छ । त्यसमध्ये झापा दमक नगरपालिका–३ का ५५ वर्षीय माधव बस्नेतको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइते हुनेहरुमा चालक दमक –९ बस्ने ३८ वर्षीय देवेन्द्र तामाङ ( दायाँ हात र बायाँ घुँडामा चोट अवस्था बोल्न सक्ने सामान्य ) ,दमक –१० बस्ने ४९ वर्षीय राजेन्द्रप्रसाद भण्डारी (बायाँ गाला र बायाँ हात खुट्टामा चोट अवस्था मध्यम ) , दमक –१ बस्ने ४५ वर्षीय ज्ञानेन्द्र गौतम( टाउको र बायाँ गालामा चोट अवस्था मध्यम ),दमक –६ बस्ने ५४ वर्षीय कमल श्रेष्ठ (टाउको र बायाँ पाखुरामा चोट अवस्था बोल्न सक्ने सामान्य ), दमक –२ बस्ने ३८ वर्षीय नवीन खतिवडा (दायाँ हातमा चोट अवस्था सामान्य ) र गौरादह –१ बस्ने ५४ वर्षीय भुवन दाहाल (टाउको र दायाँ हातमा चोट अवस्था बोल्न सक्ने सामान्य ) रहेका छन् ।