झापा, बैशाख २२ । टिपरका कारण झापामा आज तीनवटा दुर्घटना भएको छ । दुर्घटनामा ७ जना घाइते भएका छन् ।

झापाको कमल गाउँपालिका वडा न. ५ पाडाजुँगीस्थित पूर्वपश्चिम राजमार्गमा टिपर , कार र मोटरसाइकल एकापसमा ठोक्किँदा चारजना घाइते भएका छन् । साँझ अन्दाजी ५ बजे दमकबाट पाडाजुँगीतर्फ आउँदै गरेको ना १ क ७६७६ नम्बरको टिपर र विपरित दिशाबाट जाँदै गरेको को १ च ७९६९ नम्बरको कार र कार पछाडी आउँदै गरेको प्र१–०१–०१६ प ४३९२ नम्बरको मोटरसाइकल कारमा ठक्कर खाई दुर्घटना भएको हो ।

दुर्घटनामा कार चालक धरान उपमहानगरपालिका वडा न. ११ बस्ने ६८ वर्षीय जीवनकुमार विश्वकर्मा (छातीमा चोट सामान्य बोल्न सक्ने मध्यम ), कारमा सवार इटहरी उपमहानगरपालिका वडा न.८ बस्ने ५३ वर्षीय राजु गहतराज (टाउकोमा चोट, दुबै खुट्टा चल्न नसक्ने अबस्थामा सामान्य बोल्न सक्ने मध्यम ),कारमा सवार इटहरी उपमहानगरपालिका वडा न.८ बस्ने ३१ वर्षीय भिम गहतराज (दाहिने खुट्टा भाँच्चिएको अबस्था बोल्न सक्ने मध्यम ) र मोटरसाइकल कमल गाउँपालिका वडा न. ६ बस्ने १८ वर्षीय सोहत भुजेल ( दाहिने खुट्टामा सामान्य चोट अबस्था सामान्य ) रहेका छन् । घाइतेहरुलाई उपचारको लागि निम्स अस्पताल दमक पठाइएको छ ।

टिपर चालक मोरङ बेलबारी नगरपालिका वडा न. ११ बस्ने ३२ वर्षीय अरुण कटुवाललाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
त्यस्तै दमकमा टिपरको ठक्करबाट एक महिला गंभीर घाइते भएकी छन् ।

बिहान ९ः१० बजे दमक नगरपालिका वडा न.५ लिङदेन मार्गस्थित पूर्वपश्चिम लोकमार्गमा उर्लाबारीबाट दमकतर्फ आउँदै गरेको प्रदेश न.१–०२–००१ क ५२१९ नम्बरको टिपरले पैदलयात्री महिलालाई ठक्कर दिई घाइते बनाएको हो ।
घाइते हुनेमा पैदलयात्री गौरादह नगरपालिका वडा न.४ बस्ने ४८ वर्षीया सिता बर्देवा रहेकी छन् । उनको टाउको र बाँया खुट्टामा गम्भीर चोट लागेको छ । उनलाई उपचारको लागि निम्स अस्पताल दमक पठाइएको छ । दुर्घटनापछि टिपर चालक फरार भएकाले खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै बिहान अन्दाजी ७ बजे दमक नगरपालिका वडा न.९ अर्नाखाडीमा चिया दोकानबाट अर्नाखाडीतर्फ जाँदै गरेको मे १ क ७८४ नम्बरको टिपरको ढोकाबाट झरेर चालक दमक नगरपालिका वडा न.१ बस्ने ५५ वर्षीय निमा शेर्पा गंभीर घाइते भएका छन् । ढोका नलगाई टिपर चलाइरहेको अवस्थामा चालक शेर्पा टिपरबाट झरेका हुन् । ढाँड र टाउकोमा चोट लागेका घाइतेको आम्दा अस्पताल दमकमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्