झापा, बैशाख २६ । बिर्तामोड ७ मा रहेको कञ्चन अंग्रेजी माध्यमिक विद्यालयमा हरिकृष्ण अक्षयकोष स्थापना गरिएको छ ।

तेह्रथुमको छातेढुङ्गामा वि.सं. २००२ साल श्रावण १६ गते जन्म भई हरिमाया पकुवालसँग वैवाहिक बन्धनमा बाँधिएर हाल बिर्तामोड ७ बिरानमा बसोबास गर्दै आएका हरिकृष्ण पकुवालले २५ हजार रुपैयाँको अक्षयकोष स्थापना गरेका हुन् । निजी क्षेत्रलाई हेर्ने गलत नजरलाई तोड्दै पकुवालले आफ्नो जीवनमा उदाहरणीय कार्य गरेका हुन् ।
विद्यालयमा आयोजित एक कार्यक्रमका बिच प्रधानाध्यापक दिपक चम्लागाई र सहप्रधानाध्यापक बद्री बास्कोटालाई संयुक्तरुपमा उनले अक्षयकोषको रकम हस्तान्तरण गरेका थिए । कक्षा ८ मा उत्कृष्ट अङ्क ल्याउने जेहेन्दार र गरिव विद्यार्थीलाई सो अक्षयकोषको रकमबाट आएको व्याजले छात्रवृत्ति वितरण गरिने विद्यालयका फाउन्डर डिल्लीराम चम्लागाईले बताए ।
गुणस्तरीय शिक्षा र अतिरिक्त क्रियाकलापमा सो विद्यालय उत्कृष्ट रहँदै आएको छ । यस वर्षको कक्षा ८ को परीक्षामा आफ्ना विद्यालयका सबै विद्यार्थीहरुले ए प्लस र ए ग्रेडमा उत्तीर्ण गरेको फाउन्डर चम्लागाईले जानकारी दिए ।