झापा, बैशाख २७ । झापाको बिर्तामोड र दमकमा युवाहरुबीच गएराति ग्याङफाइट भएको छ । दुई समूहबीचको झडपमा दुईजना घाइते भएका छन् भने दुईजना पक्राउ परेका छन् ।

गएराति अन्दाजी ९ः५५ बजे बिर्तामोड नगरपालिका वडा नम्बर ६ स्यालडाँगी चोकमा सोही ठाउँ बस्ने १७ वर्षीय आरएन राजवंशी , १३ वर्षीय विष्णु खवाससहित उनका साथीहरु तत्काल नाम थर वतन नखुलेको ६ जना र बिर्तामोड नगरपालिका वडा नम्बर ६ बस्ने १३ वर्षीय राज सुन्दाससहित उनका साथीहरु तत्काल नाम थर वतन नखुलेको ८÷९ जनाबिच ग्याङफाइट भएको हो । त्यसक्रममा आरएन राजवंशीको टाउकोमा चोट लागेको छ । उनलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याई उपचार भइरहेको छ । इलाका प्रहरी कार्यालय बिर्तामोडबाट प्रहरी टोली खटिएर राज सुन्दास र विष्णु खवासलाई नियन्त्रणमा लिएको छ । फरार रहेका अन्यको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै दमकमा पनि युवाका दुई समूहबीच झडप भएको छ । गएराति अन्दाजी ८ बजे दमक नगरपालिका वडा नं. ५ क्याम्पस मोडमा वडा नं १० सेतुमारी बस्ने २५ वर्षीय केशव श्रेष्ठले संचालन गरेको मोबाईल पसल अगाडी मोटरसाइकल पार्किङ गर्ने बिषयमा विवाद भएको हो । वडा नं ५ बस्ने ३० वर्षीय सुमन श्रेष्ठ र सोही ठाउँ बस्ने ३२ वर्षीय नबिन राईबीच मोटरसाइकल पार्किङ गर्ने बिषयमा विवाद भई कुटपिट हँदा श्रेष्ठको टाउकोमा चोट लागेको छ । घाइते श्रेष्ठको निम्स अस्पताल दमकमा उपचार भइरहेको छ । इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी टोली खटिएर कुटपिट गर्ने सुमन श्रेष्ठ र नबिन राईलगायत फरार रहेका २–३ जनाको खोजी गरिरहेको जनाइएको छ । प्रहरीले सोही स्थानमा उनीहरुले पार्किङ गरी राखेको को २३ प ७१५३ र प्रदेश १–०१–०१७ प २९६० नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको छ ।
उता संखुवासभामा सामूहिक कुटपिटबाट दुई युवा गंभीर घाइते भएका छन् । गएराति १०.३० बजे संखुवासभा सभापोखरी– २ लिम्बुटार बस्ने २१ वर्षीय किशोर राई र सोही ठाउँ बस्ने १६ वर्षीय चन्द्र तामाङमाथि सामूहिक कुटपिट भएको हो । घाइतेहरुलाई उपचारको लागि जिल्ला अस्पताल खाँदबारी पठाइएको छ । कुटपिट गर्ने ३ जनालाई प्रहरी चौकी बाह्रबिसेले नियन्त्रणमा लिएको छ भने एकजना फरार रहेका छन् । पक्राउ पर्नेहरुमा मोरङ धनपाल ७ बस्ने ३१ वर्षीय सबिर मिया, सोही ठाउँ बस्ने २१ वर्षीय जाबुर मिया र १५ वर्षीय अबिर मिया रहेका छन् ।
त्यस्तै १६ वर्षीय साहिद मिया फरार रहेका छन् ।
त्यस्तै धारिलो हतियार प्रहारबाट नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपाल ताप्लेजुङ्ग फुङलिङ नगर कमिटीका अध्यक्ष २८ वर्षीय सन्तोष लिम्बू सख्त घाइते भएका छन् । हिजो साँझ ७ बजे ताप्लेजुङ फुङलिङ ४ तोक्मेमा लिम्बूमाथि अचानक बाटोमा हिडिरहेको बेला मोटरसाइकल रोकी फुङलिङ –४ बस्ने २५ वर्षीय अशोक लिम्बू र २४ वर्षीय सुरज लिम्बूले धारिलो हतियार प्रहार गरेका हुन् । घाइतेलाई जिल्ला अस्पताल ताप्लेजुङमा सामान्य उपचारपश्चात् थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएको छ । घटनामा संलग्नको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।