भद्रपुर, बैशाख २७ । झापाका ठूला भनिएका पाँचतारे होटलहरूमा सञ्चालन भइरहेको क्यासिनोमा अबैध तरिकाले नेपालीहरूलाई प्रवेश गराउने क्रम बढेसंगै झापाका उद्योगी व्यापारीहरू आर्थिक संकटमा परेर आत्महत्या गर्नेसम्मका घटनाहरू देखिन थालेका छन् ।

झापामा रहेका पाँचतारे होटलहरूमा सञ्चालित क्यासिनोहरूले प्रहरी प्रशासनसितको मिलिभगतमा नेपालीहरूलाई अबैध रूपमा प्रवेश दिँदा स्थानीय व्यवसायीहरू क्यासिनोको कुलतमा फस्दा आर्थिक संकट गहिरिँएर आत्महत्याको बाटोसम्म पुग्ने गरेको पाइएको हो ।

झापाको विर्तामोड र धुलावारीमा सञ्चालित पाँचतारे होटलहरूमा क्यासिनो सञ्चालनका कारण स्थानीय व्यवसायीहरू क्यासिनो लतमा परेर आर्थिक संकट गहिरिँदै गएको झापाली व्यवसायीहरूकै स्वीकारोक्ति छ । नेपाली नागरिकलाई क्यासिनो प्रवेशमा कानूनी रूपमा प्रतिबन्ध भएपनि धेरै कमाउने दाउ खोजिरहेका केही क्यासिनो सञ्चालकहरूले अबैध रूमा नेपालीलाई प्रवेश गराउँदै आएको आरोप स्वयम् व्यवसायीहरूले लगाउने गरेका छन् । क्यासिनोकै कारणले गर्दा स्थानीय व्यवसायीहरू क्यासिनो कुलतमा फसेर व्यवसाय चौपट्ट हुँदा ऋणबाट मुक्त हुन नसक्ने देखेपछि आत्महत्या जस्तो कठोर निर्णय लिनुपरेको उनीहरूको भनाइ छ ।

झापाको विर्तामोडमा पाँचतारे होटल ‘द किङ्सबरी’मा ‘सेभेन हर्स’ नामक क्यासिनो सञ्चालनमा छ भने मेचीनगरको धुलावारीमा ‘होटल मेची क्राउन’मा ‘गोल्डेन क्यासिनो’ सञ्चालनमा छ । यी दुवै होटलले सञ्चालन गरिरहेको क्यासिनामा अधिकांस ग्राहक नेपाली नै आउने गरेको त्यहाँ कार्यरत कामदारको स्वीकारोक्ति छ । उनीहरूका अनुसार प्रहरी प्रशासनका कतिपय ठूला मान्छे पनि क्यासिनोमा सहभागी हुने गरेका छन् भने सहभागी नहुने प्रहरी प्रशासनका मान्छे रकम बुझेर जाने गरेका छन् ।

यी दुई क्यासिनो सञ्चालनमा आएपछि दर्जन बढी ठूला व्यवसायी ऋणमा डुबेर व्यवसाय चौपट्ट पारेर भाग्ने अवस्थामा पुगिसकेका छन् भने कतिपय फरार भएर साझेदार व्यवसायीलाई डुवाइसकेको अवस्था छ । स्थानीय व्यवसायीहरूका अनुसार, क्यासिनो सञ्चालनका कारण नेपाली नागरिकहरू क्यासिनो कुलतमा फसेर व्यवसाय चौपट्ट भएको र आत्महत्या जस्ता कठोर निर्णय लिनु पर्ने अवस्था देखिन थालेको छ ।

विर्तामोड र धुलावारीमा सञ्चालित पाँचतारे होटलहरूमा क्यासिनो सञ्चालनले विदेशी पर्यटक आवागमन र रोजगारी सर्जनामा सकारात्मक प्रभाव पारेको भए पनि यस क्षेत्रका स्थानीय व्यवसायीहरूमा आर्थिक संकट र सामाजिक समस्याहरू उत्पन्न भएको देखिन्छ । यस विषयमा सम्बन्धित निकायहरूले गम्भीर ध्यान दिन आवश्यक छ । व्यापारी, व्यवसायीलाई क्यासिनोमा आकर्षित गरी कुलतमा फसाउन होटलहरूमा युवतीहरूको प्रयोग हुने गरेको समेत स्थानीयको आरोप छ । उनीहरूका अनुसार सवै कुरा थाहा पाएर पनि झापाली प्रहरी प्रशासन मौन बस्नुको प्रमुख कारण आर्थिक लेनदेन नै रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्