झापा , वैशाख २० । केही दिनदेखिको हावाहुरी र चट्याङसँगै परिरहेको पानीले झापामा क्षति सुरु गरेको छ । लकडाउनको समय भएपनि पानीले दैनिक जनजीवन प्रभावित पारेको छ । पानीले झापामा एक जनाको मृत्यु भएको छ भने ग्रामीण क्षेत्रमा भौतिक क्षति भएको जनाइएको छ ।

जलमग्न धुलाबारी क्षेत्र

हावाहुरीसँगै परेको पानीले खास गरेर किसानले लगाएको मकै बाली नराम्ररी प्रभावित भएको छ । तरकारी र अन्य बालीमा समेत क्षति पुगेको प्रारम्भिक विवरण आउन थालेका छन् । जिल्ला प्रहरी कार्यालय झापाले अहिलेसम्म एकजनाको मृत्यु भएको जानकारी प्राप्त भएको जनाएको छ । थप क्षतिको विवरण नआएको झापाका प्रहरी प्रमुख एसपी कृष्णप्रसाद कोइरालाले बताए । उनले थप क्षति भएको भए सम्बन्धित क्षेत्रका प्रहरी कार्यालयमार्फत आउने जनाए ।
एकको मृत्यु
झापा अर्जुनधारा नगरपालिका— १ का दुर्गाबहादुर खपाङ्गी मगरको टाङटिङ खोलाले बगाएर शनिबार मृत्यु भएको छ । सातकटेरीमा बाढीले बगाएर उनको मृत्यु हो । स्थानीय हलुवागढ सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष चक्र तामाङका अनुसार शुक्रबार रातिको पानीका कारण सानो नेते खोलामा आएको बाढीले बगाउँदा खपाङ्गीको मृत्यु भएको हो ।

बर्षाले पुर्याएको असर

चट्याङले राँगो मर्याे
शनिबार बिहान चट्याङले लागेर गौरादह नगरपालिका — ९ सुफल टोलमा एउटा राँगो मरेको छ । खेतमा पगाहा लगाएको राँगो मरेको हो । मथुरा सन्थालको राँगो चट्याङले लागेर मरेको गौरादह —९ का वडा सदस्य कृष्ण गौतमले बताए । कुञ्जीबारी प्रहरी चौकीका असई दिपक कडेलसहित प्रहरी र जनप्रतिनिधि घटनास्थल पुगेर सर्जमिन मुचुल्का गरिएको जनाइएको छ । केही दिनअघि भद्रपुर— २ मेचीपारि पनि चट्याङले लागेर एक चौपाया मरेको थियो ।

हावापानीले क्षति पुर्याएको मकै बाली

मनसुन जेठ १९ गतेदेखि
यो वर्षको मनसुन जेठ १९ देखि पूर्णरूपमा सक्रिय हुने जल तथा मौसम विभागको प्रक्षेपण छ । वर्षा औसतमा राम्रो हुनेछ । मौसमविदहरुले हावाहुरी र चट्याङसहित बिहान बेलुका र आकस्मिक रुपमा पानी पर्न सक्ने र यो क्रम केही दिन जारी रहने औँल्याएका छन् ।
तयारी सुरु गर्न आग्रह
जिल्ला रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले कोरोना संक्रमण रोकथाम तथा न्यूनीकरण सँगसँगै विपदको योजना बनाउने र तयारी सुरु गर्ने बेला आएको सामाजिक सञ्जाल फेसबुकमार्फत आग्रह गरेका छन् । उनले स्थानीय सरकारहरुलाई त्यस्तो आग्रह गरेका हुन् । ढकालले आफ्नो फेसबुक वालमा लेखेका छन् ,“ मनसुन जेष्ठ १९ देखि पूर्ण सक्रिय हुने जल तथा मौसम विभागको प्रक्षेपण, वर्षा औसतमा राम्रो हुनेछ । विपदको योजना बनाउने र तयारी सुरु गर्ने बेला भयो । स्थानीय सरकारका प्रमुखहरु,कोरोनाको कामसँगै यता पनि ध्यानाकर्षण होस् ।आज अर्जुनधारा नपा १ मा दुर्गाबहादुर खपाङ्गीको नेते खोलाले बगाएर मृत्यु भएको खबर समेत आयो ।“

 

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्