झापा, वैशाख २७ । डिभिजन वन कार्यालय झापाले घाइते अवस्थामा बेवारिसे भएर फेला परेका जंगली जनावर तथा पशुपंक्षीको कार्यालयमै राखेर संरक्षण गरिरहेको छ ।

बन्दाबन्दीको समयमा कतिपय वन क्षेत्रभित्र अवैध चोरी तस्करी बढिरहेका बेला गस्तीका क्रममा फेला परेका जंगली जनावर र पंक्षीलाई कार्यालय परिसरमा राखेर उपचार गरिरहेको हो ।
मेचीनगर–१३ स्थित हातेमालो सामुदायिक वन नजिकै दिलमाया योङहाङको घरबारीमा अन्दाजी तीन महिनाको रतुवा मृग गाउँलेले घाइते अवस्थामा फेला पारी बिहीबार वन कार्यालयलाई जिम्मा दिएका थिए । मृगको पेट काँडेतार लागेर चिरिएको हुँदा भेटेरेनरीमा लगेर टाँका लगाइएको छ । बुधबार भद्रपुरस्थित राष्ट्रिय समाचार समितिको कार्यालयमा कागलगायत अन्य चराहरुले ठुँगेर घाइते बनाएको अवस्थामा हुचिल फेला परेको थियो । पखेटामा चोट लागेको सो हुचिललाई पनि डिभिजन वन कार्यालयमै राखिएको छ ।

दुई साताअघि बाह्रदशीस्थित जलथल जङ्गलमा घाइते अवस्थामा भेटिएको ४५ केजीको १२ फिट लामो अजिङ्गरलाई समेत वन कार्यालयमा राखेर उपचार भइरहेको छ । अजिङ्गरको टाउकोमा चोट छ । मृग, हुचिल र अजिङ्गरलाई खोरमा राखेर उपचार भइरहेको वन कार्यालयका प्रमुख विष्णुलाल घिमिरेले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्