झापा,वैशाख २८ । सहकारीले सहकारी कर्म नगरी व्यापार गर्दा सहकारी अभियानमा नै समस्या सिर्जना भएको झापाको सहकारी नेतृत्वको निश्कर्ष छ ।

अन्तरसम्वाद कार्यक्रम

झापा जिल्ला सहकारी संघले आज बिर्तामोडमा सप्पन्न गरेको कोरोना कहरले सहकारीमा ल्याएको समस्या र समाधानका उपाय विषयक अन्तरसम्वाद कार्यक्रमका सहभागीले होडबाजीमा पैसा कमाउने रोग सहकारीमा हाबी हुँदा समस्या रहेको बताए । सहकारीका सदस्य “सोह्र श्राद्धको बाहुन “ जस्तो हुनु जटिल समस्या भएको नेतृत्वको ठहर छ । देशमा जारी ४८ औं लकडाउनका दिन आयोजित सो कार्यक्रममा छोटे राजाको दम्भले अब सहकारी नचल्ने दाबी गरियो । कार्यक्रममा तथ्यगत हिसाब गर्ने हो भने सबै सहकारी अहिले नै घाटामा पुगेको आँकलन समेत सहभागी माझ राखियो । संघका अध्यक्ष गणेश ढकाल, सचिव युवराज ढकाल, सहसचिव भवानीप्रसाद दङ्गालले श्रव्यदृश्य प्रस्तुति गरेका थिए । कार्यक्रममा बिर्तामोड क्षेत्रका सहकारीका सञ्चालक, व्यवस्थापक र संघका पदाधिकारी गरी २० जनाको सहभागिता थियो । सहभागीले नेतृत्वसँग अब कसरी अघि बढ्ने र संघको रणनीति के छ भनेर जिज्ञासा राखेका थिए । नेतृत्वले अन्तर सहकारी कारोबार, संस्था एकीकरण, कर्मचारी कटौती, सानो कारोबार, व्यवस्थापकीय सहकार्य लगायतको कार्यक्रम द्रुत गतिमा अघि बढाउनुको बिकल्प नभएको धारणा राखेको थियो ।

अन्तरसंवादमा राज्यले सौताको व्यवहार गरेको बताइयो । सहभागीले सहकारीलाई वित्तीय संस्थाका रुपमा राज्य पक्षले नहेरेको दुखेसो गरेका थिए । कोरोना संक्रमणको बेला स्थानीय तह र जिल्ला राहत कोषमा २ करोड ५० लाख नगद र ५० बराबरको खाद्यान्न र अन्य सामग्री रहतस्वरुप उपलब्ध गराइएको जनाइयो । अन्तरसंवादमा कसरी अगाडि बढ्ने भन्ने र योजनाको खाका बनाउन प्रकोप व्यवस्थापन कार्यदल बनाइएको छ । कार्यदलमा टिएस प्रधान, कृष्ण पौडेल , कृष्ण मिश्र, सन्तोषकुमार श्रेष्ठ, लीलानाथ रेग्मी रहेका छन् । कार्यदलको नेतृत्व जिल्ला संघले गर्ने जनाइएको छ । सहकारीले सञ्चालन गरेकको लघुवित्त कार्यक्रम धरासायी बन्ने निश्चित भएको बताइएको कार्यक्रममा बंगलादेश र भारतको महारास्ट्रको दृस्टान्त प्रस्तुत गरिएको थियो । अन्तरसंवादमा समयमा ऋण असुली, तरलताको समस्या न्यूनीकरण, भुक्तानी कम गर्ने ,सञ्चालन खर्च कटौती,समूहमा गरेको लगानी असुल लगायतमा गम्भीरतापूर्वक लाग्नु पर्नेमा जोड दिइयो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्