बिर्तामोड , बैशाख ३१ । कोरोना भाइरस रोकथाम तथा राहत ब्यबस्थापन कोषमा राजवंशीहरुले पनि सहयोग गरेका छन् ।

राजवंशी जातिको प्रतिनिधित्व गर्दै राजवंशी समाज विकास समिति बिर्तामोड ५ ले राहत कोषमा आज सहयोग गरेको हो । राजवंशीहरुको बिर्तामोड ५ नं वडा समितिले बिर्तामोड नगरपालिकाको ५ नं वडा समितिको राहत कोषमा अढाई क्वीन्टल चामल सहयोग गरेको हो । करिव १० हजार मूल्य पर्ने खाद्यान्न वडाको राहत कोषमा जम्मा गरिएको समितिकी अध्यक्ष रुपा राजवंशीले बताइन् । सो खाद्यान्न समितिकी अध्यक्ष रुपा, सचिव सुमन राजवंशी, कोषाध्यक्ष अन्जु राजवंशी, सहयोगीहरु समिता उप्रेती, अस्मिता खनाललगायतले बिर्तामोड ५ का वडाध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन र कार्यपालिका सदस्य सुरेन राजवंशीलाई हस्तान्तरण गरेका थिए । बिर्तामोड— ५ मा हाल १ हजार ६६३ घरधुरी विपन्न रहेको वडा कार्यालयले निकालेको पछिल्लो तथ्यांकले देखाएको छ । यसअघि ६९० परिवार विपन्न रहेको तथ्यांक निकालिएको थियो ।

त्यस्तै समाजसेवी लोकबन्धु कन्दङवाले आज बिर्तामोड ६ का एक सय विपन्न परिवारलाई खाद्यान्न राहत वितरण गरेका छन् । उनले २५ किलोका दरले ती विपन्न परिवारलाई चामल वितरण गरेका हुन् । आजै बिर्तामोड —६ मा श्रीकृष्ण प्रणामी समाज झापाले राहत वितरण गरेको छ । समाजले २५ किलोका दरले ५० परिवारलाई चामल दिएको स्थानीय समाजसेवी वीरेन मेचेले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्