झापा, जेठ ८ । पूर्वी दक्षिणी झापाको कचनकवल गाउँपालिकामा कोरोना संक्रमणको आशंका गरिएका व्यक्ति राख्न निर्मित क्वारेन्टाइन व्यवस्थापनमा लापरवाहीकै कारण संक्रमितको संख्या बढ्ने देखिएको छ ।

छिमेकी देश भारतबाट लुकीछिपी नेपाल प्रवेश गर्न सहज बाटो बनिएको कचनकवलमा भारतलगायतका देशबाट आउने व्यक्तिलाई राख्न निर्मित क्वारेन्टाइन भीडभाड जोड्ने आधारका रूपमा विकसित हुँदै जाँदा त्यहाँ रहेका व्यक्तिमा कोरोना संक्रमण जोखिम बढेको हो ।

स्थानीयका अनुसार कचनकवलको पाठामारी, केचना र घेरावारी क्षेत्रका नाकाबाट भारतका विभिन्न शहरमा कामका लागि गएका व्यक्तिहरू सहजै प्रवेश गर्ने गरेका छन् । त्यहाँका स्थानीय व्यक्तिहरूले भारतबाट लुकीछिपी आउनेलाई क्वारेन्टाइनमा बस्न सुझाए अनुसार क्वारेन्टाइन पुग्ने गरेका हुन् । तर, गाउँपालिकाले निर्माण गरेका क्वारेन्टाइन, भवनहरू व्यवस्थित नभएकै कारण कोरोना संक्रमितको संख्या उल्लेख्य बढ्ने अवस्था आएको स्थानीयको भनाइ छ ।

कचनकवल गाउँपालिकाका विभिन्न नाकाका भारतीय सीमा क्षेत्रबाट चार दिनभित्र मात्र १ सय ४६ जना नेपाल प्रवेश गरेका छन् । मकैबारीबाट नेपाल प्रवेश गरेका भनिएका उनीहरूलाई गाउँपालिकाले सधै ट्याक्टरमा हालेर कचनकवल–३ स्थित पथरिया माविमा रहेको क्वारेन्टाइनमा राखिएको कचनकवल गाउँपालिकाका क्वारेन्टाइन संयोजक तथा वडा नम्बर ३ का वडाध्यक्ष विजयकुमार राजवंशीले बताए ।उनले गएराति पानीमा भिजेर ८ जनालाई भारतीय सीमाबाट ल्याएको र उनीहरुलाई कुन क्वारेन्टाइनमा राख्ने भनेर समस्या भएको जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्