राजेन्द्र गौतम , बैगुनधुरा,दहगाउँ ।
“बारीमा लगाको मकैको एक घोगो पनि लागेन” झापा गौरादह नगरपालिका — ९ तल्लो दहगाउँकी इश्वरा पौडेलले दुखेसो गरिन् ,“ ६ सय रुपैयाँ किलोको तीन किलो बीऊ ल्याएर मकै रोपेँ मात्रै, पोली खाने पनि फलेन ।”

उनले पाँच कठ्ठा जमिनमा लगाएको मकैको बोट सप्रेर आयो । हलक्क बढेको मकै हेर्दा राम्रो फल्छ भन्ने आफूलाई लागेको उनले सुनाइन् ।“ मकैको एउटा बोटमा ५ र ६ वटासम्म सुत्ला पनि लाग्यो ” उनले भनिन् ,“ तर घोगा लागेन बोट थारिएर बस्यो ।” सुत्ला नबढेको र दाना नलागेको उनले सुनाइन् । अठार सयको बीऊ, मल,पानी लगाउँदाको पैसा खेर गएकोमा उनले चिन्ता व्यक्त गरिन् । “ पैसा त खेर गयो गयो,बिनासित्ती पसिना बगाइयो ” उनले दुखेसो गरिन्,“ अहिले मकै हटाएर खेत खाली गर्न समस्या भएको छ ।” उनले राम्रो फल्ने र उन्नत जातको भनेर कुञ्जीबारीको पसलबाट बीऊ लगेर रोपेको सुनाइन् । “बेच्नेले त मलाई मात्रै होइन, अरुलाई पनि त बेचे होलान् , सबैको यस्तै त भयो होला नि !” उनले भनिन् ।

उनको मात्रै होइन स्थानीय गणेश निरौलाले लगाएको उन्नत जातको मकै फल्दै फलेन । गणेशले लगाएको मकै पनि सुत्ला च्यापेर त्यसै थारिएको बताइन्छ । इश्वराले गाउँबाट किनेर ल्याएको लोकल मकै राम्रै फलेको सुनाइन् । इश्वरा र गणेशको मात्रै होइन उनीहरुका छिमेकीहरुले लगाएको मकै बारीमा नै ठाडै सुकेको छ । राम्रो फल्ने आशमा लगाएको मकै सुत्ला च्यापेर थारिनु र आगो लगाएको जस्तै भएर जल्दा आफूहरु आश्चर्यमा परेको तुलसी सुवेदीले बताए । यस्तो हुँदा किसानलाई मात्र बेफाइदा भएको छैन कृषि विज्ञका लागि चुनौती थपिएको सुवेदीले बताए। बारीमा मकै थारिने र जल्ने मात्रै होइन उत्पादित मकै नबिकेर किसानहरु हैरान छन् । लकडाउनका कारण पनि मकै बिक्री नभएको होला भनेर आफूहरु अहिलेसम्म चित्त बुझाएर बसेको किसानहरुको भनाइ छ । साविक महाभारा — ५ झोडाका बिनोद योङ्याले किसानले उत्पादित मकैको मूल्य नै नभएको बताए । “ प्रतिकेजी १७ रुपैयाँ मात्रै मूल्य छ ” कोरोना महामारीका कारण किसान मारमा परेको दाबी गरेका योङ्याले भने, “ नफल्ने मात्रै होइन नबिक्ने समस्याले किसान पिरोलिएका छन् । ” किसानलाई यतिबेला मकै थन्क्याउन चटारो छ । लगानी गरेर फलाएको मकै भाँच्न नभ्याएर खेतबारीमा बोटबोटमै लोतिएर रहेको छ भने कतिपय ठाउँमा भाँचेर भुइँमा त्यसै छाडिएको छ । कतिपय किसानले मकै छोडाएर सुकाउँदै थन्क्याउन थालेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्