झापा,जेठ ९ । नेपाल सरकारले निशान छाप परिवर्तनको प्रयोजनका लागि मात्र संविधान संशोधन गर्ने निर्णय गरेको छ।

शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटामा बसेको मन्त्रिपरिषद् बैठकले संविधान संशोधन प्रस्ताव संघीय संसद्मा दर्ता गर्ने निर्णय गरेको हो।नेपालको निशान छाप भित्र अंकित नेपालको नक्सा वास्तविक सीमा अनुरुप मिलाउन मात्र यो प्रस्ताव संसदमा दर्ता गर्ने निर्णय भएको अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले जानकारी दिए। ‘प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रस्तावमा नेपालको संविधानलाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्ने निर्णय भएको छ’, सरकारका प्रवक्तासमेत रहेका खतिवडाले बैठकपछि आयोजित पत्रकार सम्मेलनमा भने।खतिवडाले संविधानको अनुसूची ३ मा रहेको निशान छापभित्रको नक्सा परिवर्तनका निम्ति मात्र संशोधन गर्ने निर्णय भएको प्रष्ट पारेका छन्। ‘नेपालको संविधानको अनुसूची ३ मा नेपालको संविधानको धार ९ को उपधारा २ सँग सम्बन्धित अनुसूची ३ को सट्टा यसै साथ संलग्न भए बमोजिमको अुनुसूची ३ राखिएको छ। त्यो अनुसूची ३ मा नेपालको निशान छाप छ र त्यो निशान छाप परिवर्तन गर्नुको कारण चाहिँ नेपालको संविधानको अनुसूची ३ मा रहेको नेपालको निशान छाप भित्र अंकित नेपालको नक्सालाई नेपालको वास्तविक सीमा अनुरुप मिलाउन आवश्यक भएकोले यो संविधान संशोधन गर्नु परेको हो’, प्रवक्ता खतिवडाले भने, ‘मुलत यो अनुसूची ३ र निशान छापलाई संशोधन गर्ने मात्र प्रयोजनका लागि संविधान संशोधन प्रस्ताव संघीय संसदमा पेश गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको हो।’

सरकारले जेठ ५ गते नेपालको नयाँ नक्सा ल्याउने निर्णय गरेको थियो। भूमिव्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले लिम्पियाधुरासहित गुञ्जी, नाभी, कुटीलगायत केही भूभाग समेटिएको नेपालको नक्शा (राजनीतिक तथा प्रशासनिक) जेठ ७ गते सार्वजनिक गरिसकेको छ। सोही अनुरुप निशान छापभित्र रहेको नेपालको नक्सा सीमा अनुरुप मिलाउने तयारी स्वरुपम सरकारले संविधान संशोधनको प्रस्ताव संसद्मा लान यो निर्णय गरेको हो।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्