राजेन्द्र गौतम, रतनचौन (झापा ) । कृषिमा मन तानिएपछि झापाका पुष्प भट्टराईले दमकमा रहेको फेन्सी पसल स्वाट्टै बेचिदिए । अनि सुरु गरे कमल गाउँपालिका —१ रतनचौनमा कुखुरापालन ।

अहिले उनको फार्ममा एक हजारबढी कुखुरा छन् । लोकल जातका कुखुरा पाल्न उनले ६ कठ्ठा जग्गामा घेराबारा गरेका छन् । दिनभर कुखुरा त्यहीँ घेराबाराभित्र घुम्छन्, चर्छन् । रातमा कुखुरा फार्ममा बस्छन् । बस्न, चर्न, घुम्न र दाना पानी राम्रो प्रबन्ध भएकाले कुखुरा राम्रो सप्रेका छन् । चल्तीको फेन्सी पसल बेचेर यो पेशामा होमिएका उनको अहिलेसम्म १२ लाखबढी खर्च भैसकेको छ । खर्च अनुसार आम्दानी भने हुन नसकेको बताएका पुष्पले भने,“ यो पेशामा म सन्तुष्ट छु, थोरै समयमा धेरै आम्दानीको अपेक्षाभन्दा पनि आफ्नो जमिनमा कृषिकर्म आफैं गर्नुमा आत्मसन्तुष्टि हुँदो रहेछ ।” कुखुरासँगै माछापालन सुरु गरेका उनी चाँडै नै गाईपालन सुरु गर्ने योजनामा छन् । माछा पोखरीको संख्या बढाउने लक्ष्य राखेका भट्टराईले कुखुराको फार्म, त्यहाँ आउने मानिस बस्ने बाटिका निर्माण र घेराबारामा अहिले समय खर्चिरहेका छन् । व्यवस्थित गाईपालन र बाख्रापालनको योजनामा रहेका पुष्पले एकीकृत कृषि पेशा आफ्नो लक्ष्य भएको बताए ।“ लकडाउनको समय छ, बाहिर कहिँ खुल्ला छैन, यो समय फार्ममा नै खर्चेको छु” उनले भने,“ फार्मभित्र नै पकाउने खाने व्यवस्थित ठाउँ बनाउने तयारीमा छु ।”

भट्टराईको फार्ममा कुखुरा मात्र पाइदैन, अण्डा पनि उत्पादन हुने गरेको छ । फार्मका धेरै कुखुरा त्यहीँ उत्पादन भएका चल्ला हुन् , कतिपय बाहिरबाट ल्याइएको उनले सुनाए । भट्टराईको फार्ममा उत्पादन भएको कुखुरा डिलरले प्रतिकिलो ४५०, खुँगीवालले ४८० र खुद्रा प्रतिकिलो ५०० रुपैयाँमा बिक्री हुने गरेको छ । गाउँघरमा एक—दुई किलो लानेलाई पनि ५०० रुपैयाँमा नै दिने गरेको पुष्पले बताए । कुखुरालाई दाना दिने र हेरचाह गर्ने कार्यमा उनलाई श्रीमती मनमायाले सघाउने गरेकी छन् । विगतमा गौरादहबाट दाना ल्याउने गरेका उनीहरूले अहिले घरमै धान,मकै लगायतबाट दाना बनाएर कुखुरालाई खुवाउँदै आएका छन् । “ थोरैले पुग्दै पुग्दैन“ दाना बनाउन र खुवाउन निक्कै गाह्रो हुन्छ । ” तीन चार पटक खुवाउँदा गलिने र सबैलाई पुग्ने गरी बाँड्न हम्मेहम्मे पर्ने मनुको अनुभव छ । डेढ बिघा जमिनमा पशुपालन गर्ने योजनामा रहेका भट्टराई दम्पतिको फेन्सी पसल बेचेको सबै रकम अहिलेसम्म हात लागेको छैन । ४१ लाखमा पसल बेचेका १५ लाख रुपैयाँ हात नलाग्दा उनीहरु चिन्तित छन् । यद्यपि केही गर्नु पर्छ भन्ने हिम्मत उनीहरुले हारेका छैनन् । आगामी दिनमा ह्याचरी खोल्ने सोच रहेका उनीहरूले युट्युब र सामाजिक सञ्जाल हेरेर र लेखेका समाचार पढेर पशुपालनमा ध्यान तानिएको सुनाए । पसल बेचेपछि त्यसै के बस्नु भनेर आफ्नै जमिनमा कृषिकर्म गर्ने योजनाका साथ कुखुरापालन सुरु गरेको पुष्पले बताए । पशुपालन व्यवसाय सञ्चालनका लागि अहिले उनीहरु बैंकबाट ऋण लिने तयारीमा छन् । दुई महिनादेखि जारी बन्दाबन्दीले उनीहरुको योजना अलपत्र परेको छ । कामना विकास बैंकमार्फत ४० लाख ऋण माग गरेको पुष्पले सुनाए । ऋण लिएर भएर पनि आफ्नो योजना पूरा गरेरै छाड्ने पुष्पको दृढता छ । “अहिले सुरुसुरु नै छ, त्यसैले कमाइ खासै राम्रो छैन ” उनीहरुले भने,“ पूरा फार्म सञ्चालन र खानेबस्ने राम्रो ठाउँ भए कसो आम्दानी नहोला ? ”

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्