भद्रपुर, जेठ १० । नेपाली काँग्रेस झापा क्षेत्र नम्बर ३ तथा कचनकवल गाउँ समितिले कोरोना संक्रमणले महामारीको स्वरूप लिएको कचनकवलमा पिसिआर स्वास्थ्य जाँच, विपन्नलाई राहत तथा क्वारेन्टाइन व्यवस्थापनको माग राखी सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।

क्षेत्रीय सभापति गणेश पोखरेल, महासमिति सदस्य भूमिप्रसाद राजवंशी, क्षेत्रीय सचिव गायत्रीप्रसाद भट्टराई, क्षेत्रीय प्रदेश सभापति चिन्तामणि खरेल, जिल्ला सदस्य सिताराम खड्काको टोलीले कचनकवलमा रहेका ४ वटा क्वारेन्टाइन व्यवस्थित नभएको, त्यहाँबाट उत्पन्न हुने फोहोरले आसपासका बासिन्दामा संक्रमण त्रास बढेको, सीमा सिलमा खटिएका सुरक्षाकर्मीको अस्थायी पोष्ट बस्न योग्य नभएको तथा क्वारेन्टाइन स्थलमा रहेका अधिकांस व्यक्तिको पिसिआर स्वास्थ्य जाँच नगर्दा त्रास उत्पन्न भएको लगायतका माग राखेर प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।ज्ञापनपत्रमा भनिएको छ— “कोरोना संक्रमणबाट उच्च प्रभावित क्षेत्र कचनकवल गाउँपालिकामा भारतबाट आएका र शंकास्पद व्यक्तिलाई राख्न बनाइएका ‘क्वारेन्टाइन’ स्थलहरूमा देखिएको चरम लापरवाहीपूर्ण अव्यवस्थापनले त्रास बढाएको छ । कोरोना महाव्याधिविरुद्धको युद्धको अग्रमोर्चामा रहेका प्रहरीलाई उपलब्ध गराउनु पर्ने न्यूनतम सुविधाप्रति सरकार उदासिन छ । कचनकवल गाउँपालिकाका विपन्न वर्गप्रतिको राहत दिने काममा सरकारी उदासिनताले भोकमरी संकट आएकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।”

यस्तै ज्ञापनपत्रमा सरकारसित निम्नानुसारका माग समेत अगाडि सारिएको छ
क) स्वाव संकलनका लागि आवश्यक किट्स लगायत पर्याप्त स्वास्थ्य सामग्रीको व्यवस्था गरी क्वारेन्टाइन स्थलमा बस्दै आएका सम्पूर्ण व्यक्तिहरुको स्वाव संकलन गरी त्यसको अविलम्व पीसीआर विधिबाट परीक्षण गरियोस् । र, उनीहरुको संक्रमणको वास्तविक स्थिति पत्ता लगाइयोस् । साथै पछि भारतका लगायत देशबाट आउने सम्भावित संक्रमित व्यक्तिहरुलाई सुरक्षित तवरले तुरुन्तै क्वारेन्टाइनमा राखी उनीहरुको संक्रमणको स्थिति अविलम्व पत्ता लगाइयोस् ।
ख) संक्रमण पुष्टि भएका व्यक्तिहरुलाई तुरुन्त अलग गरी आवश्यक चिकित्सकीय सेवा प्रदान गरियोस् । र, क्वारेन्टाइनमा बस्ने संक्रमण नदेखिएका व्यक्ति तथा समुदायलाई संक्रमणको जोखिमबाट बचाइयोस् ।
ग) क्वारेन्टाइन स्थलमा रहने बस्ने व्यक्तिहरुको बीचमा मापदण्ड बमोजिमको भौतिक दूरी कायम गरियोस् ।
घ)क्वारेन्टाइन स्थलमा प्रयोग हुने शौचालय, खानेपानी, स्नानघर जस्ता आधारभूत आवश्यकताका वस्तुहरुको प्रयोगमा सुरक्षा सावधानीको प्रत्याभूति गरियोस् ।
ङ) क्वारेन्टाइन स्थलमा सावुन, सेनिटाइजर लगायतका सरसफाईका सामग्रीहरुको पर्याप्त व्यवस्था गरियोस् ।
च) क्वारेन्टाइन स्थलमा रहेका व्यक्तिहरुले प्रयोग गरी फाल्ने सामग्रीलाई राख्ने सुरक्षित डस्टविनको व्यवस्था गरी सो सामग्रीलाई अन्य ठाउँमा फाल्ने स्थितिको अन्त्य गरियोस् । साथै सो सामग्रीको सुरक्षित डिस्पोज गर्ने व्यवस्था मिलाइयोस् ।
छ) क्वारेन्टाइनमा बस्ने व्यक्तिहरुलाई अघाउन्जेल पौष्टिक आहारयुक्त खानाको व्यबस्था गरियोस् । साथै, उनीहरुका लागि दिउँसोको खाजाको व्यवस्था समेत गरियोस् ।
ज) नियमित औषधीको प्रयोग गर्दै आएका क्वारेन्टाइनमा बस्ने ब्यक्तिहरुका लागि औषधी सेवनको निरन्तरताको प्रत्याभूति गरियोस् ।
झ) उनीहरुका लागि सफा ओढ्ने, ओछ्याउने कपडाको उचित व्यवस्था गरियोस् ।
ञ) समग्रमा क्वारेन्टाइनमा बस्ने व्यक्तिहरूका लागि मापदण्ड बमोजिमको बन्दोबस्तीको न्यूनतम व्यवस्था गर्दै सो स्थललाई सुरक्षित बनाई त्यहाँ बस्ने सम्भाब्य संक्रमणरहित व्यक्ति तथा समुदायलाई संक्रमणको जोखिमबाट बचाइयोस् ।
ज्ञापनपत्र बुझ्दै झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले सरकारले नागरिकको सुरक्षाका लागि नै विभिन्न अभियान चलाइरहेको जनाउँदै यथासक्य प्रधानमन्त्री कार्यालयमा ज्ञापनपत्र पठाउने प्रतिबद्धता जनाएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्