झापा, जेठ १० । झापामा भद्रपुरस्थित मेची अस्पतालको नवनिर्मित भवनलाई कोरोना अस्पतालका रुपमा विकास गरिने भएको छ ।

झापा जिल्ला कोरोना भाइरस रोकथाम उपचार समन्वय तथा अनुगमन समितिको सचिवालय बैठकले मेची अस्पतालको भवनमा १ सय बेडको कोरोना अस्पताल बनाउने निर्णय गरेको हो । त्यस्तै जिल्ला स्वास्थ्य तालिम केन्द्रको भवनमा पीसीआर ल्याब स्थापना गर्ने र १ हजार पिस भीटीएम खरिद गर्ने निर्णय गरिएको छ । सरोकारवालाको पटक–पटकको छलफलपछि आज यसको अन्तिम टुङ्गो लागेको हो । प्रदेश सभा सदस्य सांसद बसन्त बानियाँले मेची अस्पतालको नवनिर्मित भवन कोरोना अस्पतालका लागि उपयुक्त हुने निष्कर्ष निकालिएको बताए । ‘अरु विकल्पमा पनि छलफल भयो । तर सबै हिसावले मेचीको नयाँ भवन उपयुक्त हुने निष्कर्ष आयो’, सांसद बानियाँले भने । कोरोना अस्पतालका लागि चाहिने आवश्यक जनशक्ति र उपकरण प्रदेश सरकारमार्फत प्राप्त हुने सांसद बानियाँले बताए । केही जनशक्तिको व्यवस्थापन भइसकेको छ ।

अहिलेसम्म झापामा ३६ जनामा कोरोना संक्रमण भइसकेको छ । जसमध्ये ३३ जना कचनकवल गाउँपालिकाका छन् । त्यस्तै झापा गाउँपालिकाको एकजनामा आज संक्रमण देखिएको छ । बाह्रदशी गाउँपालिका र दमक नगरपालिकाका एक— एक जना निको भएर घर फर्किसकेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्