झापा, जेठ १३ । मोरङ व्यापार संघ र उद्योग संगठन मोरङद्वारा संयुक्तरुपमा कोभिड १९ ले उद्योग, व्यवसाय र बजार संचालनमा पारेको असरबारे वेभिनार कार्यक्रम सम्पन्न गरिएको छ ।

मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मून्दडा र उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेकोे सभापतित्वमा हिजो बेलुका ४ बजेदेखि आयोजना गरिएको वेभिनार कार्यक्रममा प्यानलिष्टका रुपमा संघीय सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति राज्य मन्त्री मोती दुगड, प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानून मन्त्री माननीय हिक्मत कार्की, नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा, संघीय सरकारका गृह सचिव महेश्वर न्यौपाने, नेपाल प्रहरीका महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीको सहभागिता रहेको थियो । कोभिड १९ र बन्दाबन्दीले निम्त्याएको विषम् परिस्थितिबारे चर्चा गर्दै मुलुकमा उत्पन्न आर्थिक संकटलाई न्यूनीकरण गर्दै उद्योग, व्यवसाय र बजार संचालन गर्न सरकार र निजी क्षेत्रको समन्वयबारे सरकार र निजी क्षेत्रका विशिष्ठ व्यक्तित्वहरुसँग छलफल गर्न मोरङ व्यापार संघका अध्यक्ष मुन्दडाको नेतृत्वमा उक्त वेभिनार कार्यक्रम आयोजना गरिएको थियो ।

मोरङ व्यापार संघका वरिष्ठ उपाध्यक्ष नविन रिजालले मोडरेटरको रुपमा संचालन गरेको उक्त वेभिनारमा सभापतित्व गर्दै संघका अध्यक्ष मून्दडाले स्वागत मन्तव्य राखेका थिए । सभापतिकै रुपमा रहेका उद्योग संगठन मोरङका अध्यक्ष घिमिरेले वर्तमान परिस्थितिबारे प्रकाश पारेका थिए । कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका कार्यबाहक सुबोधकुमार गुप्ता, सिद्धार्थनगर (भैरहवा) उद्योग वाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपाने र नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले समेत आ–आफ्नो क्षेत्रको अवस्थाबारे अवगत गराएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्