झापा , जेठ १४ । हिजो मात्रै भारतबाट फर्केका एकजनाको आज बिहान सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा मृत्यु भएको छ ।

भारतबाट फर्केका कैलालीको गौरीगंगा नगरपालिका—९ का ५५ वर्षीय पुरुषको बिहान ६ बजे सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए । हिजो दिउँसो उनलाई गौरीफन्टा बर्डरभन्दा ५ सय मिटर भित्रबाट बेहोस अवस्थामा उद्धार गरी सेती प्रादेशिक अस्पतालको इमरजेन्सी वार्डमा पुर्याइएको थियो। भारतबाट नेपालीहरुलाई ल्याएको बसले उनीसहितका यात्रुलाई बोर्डर पुग्न आधा किलोमिटर अगाडि नै एसएसबीको क्याम्प नजिक छोडेको थियो । त्यही बेहोस भएको खबर आएपछि नेपाली सीमा नाकामा राखिएको एम्बुलेन्सबाट उनलाई सेती अस्पतालमा पुर्याइएको सीमामा खटिएका धनगढी उप–महानगरपालिकाका स्वास्थ्यकर्मी दिनेश ठकुल्लाले बताए । सेती प्रादेशिक अस्पतालको इमरजेन्सीमा मंगलबार गरिएको उनको आरडीटी टेस्ट भने नेगेटिभ आएको सूचना अधिकारी श्रेष्ठले बताए । आरडीटी नेगेटिभ आएपनि उनलाई, सेतीको इमरजेन्सी वार्डबाट हिजो नै आइसोलेसनमा सारिएको थियो। अहिले मृतकको शव सेती प्रादेशिक अस्पतालको शवगृहमा राखिएको छ । उनको थ्रोट स्वाब संकलन भइरहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्