इन्द्रसिंह राजवंशी
झापा, जेठ १६ । झापा जिल्लाको पहिलो कोरोना संक्रमित बाह्रदशी ४ का मुजाहिर मियाँको दिनचर्या विगतभन्दा बिल्कुलै फरक छैन । कोरोना रोग निको भएर घर आएपछि न उनको स्वास्थ्य कमजोर भएको छ न आत्मवल नै ।

सांकेतिक तस्वीर

कोशी अञ्चल अस्पतालको कोरोना अस्पतालबाट निको भएर ४९ वर्षिय मियाँ बैशाख २९ गते घर फर्किएका हुन् । त्यसयता होम क्वारेन्टाइनमा बसिरहेका मियाँ पहिलाजस्तै तन्दुरुस्त भएर काम गर्छन् । ‘म विन्दास भएर काम गर्छु, भात खान्छु’ उनी भन्छन्, ‘आफूलाई विरामी भएको महसुस नै भएको छैन ।’ कोरोनाको संक्रमणले भन्दा पनि अरुबाट हतोत्साहित भएर संक्रमितहरु कमजोर बन्ने गरेको उनको भोगाइ छ । ‘ मलाई ८—९ पटक जाँचिसके ’स्थानीय मदरसाका धर्मगुरु (मुल्बी ) रहेका मियाँ भन्छन् ‘ अझै कति पटक चेक गर्ने हुन् गरुन् म तयार छु ।’ कोरोना संक्रमितलाई समाजले हेर्ने दृष्टिकोण र गर्ने ब्यबहार राम्रो नभएको उनले गुनासो गरे । ‘विश्व नै कोरोनाको महामारीबाट संक्रमित भएको छ ,त्यसैले एकजना ब्यक्ति बिशेषलाई नराम्रो ब्यवहार गर्नु उचित होइन’ उनले भने । कोरोनाको संक्रमणपछि आफ्नो स्वास्थ्यमा कुनै कमी नआएको बताउँदै मियाँ चुनौती दिन्छन्, ‘म अहिले पनि तीन जनाको काम एक्लै गर्न सक्छु ।’ भारत दिल्लीको मुजाहिद्दीनमा भएको मुस्लिमहरुको धार्मिक भेला तब्लिगी जमातमा सहभागी भएर उनी फागुन १८ गते घर फर्केका थिए । फर्केर होम क्वारेन्टाइनमा बसेका मियाँलाई झण्डै डेढ महिनापछि कोरोना पुष्टि भएको थियो ।त्यसपछि बैशाख १४ गते उनलाई कोरोना अस्पताल विराटनगर लगिएको थियो । करीव दुई हप्ताको बसाइमा गरिएको चारवटा टेष्ट सबै नेगेटिभ आएपछि उनलाई घर फर्काइएको हो । त्यसयता उनी होम क्वारेन्टाइनमा बसेको १८ दिन भइसक्यो । अहिलेसम्म उनीमा पुनः संक्रमण देखिएको छैन । निको भएर आएपछि दुई हप्तासम्म होम क्वारेन्टाइनमा बसिसकेका मियाँलाई आफूले घर छेउछाउ हिड्डुल गर्न सल्लाह दिएको बाह्रदशी गाउँपालिकाका अध्यक्ष खड्ग राजवंशीले बताए । मियाँसहित दमकका ६२ वर्षिय कोरोना संक्रमित पनि निको भएर घर फर्केका छन् । झापामा हालसम्म कचनकवलका ७३,बाह्रदशी गाउँपालिका र गौरादह नगरपालिकाका २—२ र दमक नगरपालिका, झापा गाउँपालिका र भद्रपुर नगरपालिकाका १—१ गरी हालसम्म ८० जना कोरोनाबाट संक्रमित भएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्