झापा, जेठ १६ । नेपालमा थप १७० जनालाई कोरोना भाइरस रोगको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा.विकास देवकोटाले देशका विभिन्न प्रयोगशालाहरुमा गरिएको परीक्षणमा १७० जनालाई कोरोना भाइरस पोजेटिभ देखिएको जानकारी दिए । यो संगै नेपालमा संक्रमितको संख्या १ हजार २१२ पुगेको छ ।
प्रवक्ता देवकोटाका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ८४ जनालाई कोरोना पुष्टि भएको छ । जसमा कपिलवस्तु भृकुटीमण्डप कृष्णनगर क्वारेन्टाइनमा रहेका ७ वर्षका बालकदेखि ५२ वर्षउमेर सम्मका २३ जना पुरुष छन् । यस्तै रौतहट राजपुर फर्दवाका २ जना बालिकासहित २२ देखि ६० वर्ष उमेरसम्मका ५४ जना पुरुष छन्। सर्लाही मलंगवाका १ महिलासहित ३ जना पुरुषलाई पनि कोरोना पोजेटिभ देखिएको छ । रुपन्देहीमा गरिएको परीक्षणमा कपिलवस्तु गौतमबुद्धका १७ देखि ४४ वर्ष उमेरसम्मका १६५ जना पुरुषलाई कोरोना पुष्टि भएको छ भने रुपन्देही सैनामैनाका २७ वर्षका पुरुष छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा ११ जनालाई कोरोना पुष्टि भएको छ । दाङ गडवाका २८ र ४१ वर्षका २ पुरुष र कपिलवस्तु विजयनगरका १७ देखि ५९ वर्ष उमेरका ९ जना पुरुष छन् ।यसैगरी,कोसी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा कचनकवलका थप २७ जनालाई कोरोना पोजेटिभ देखिएको छ । जसमा कचनकवलका १८ देखि ४१ वर्ष उमेरसम्मका २४ जना र २४ देखि ५४ वर्ष उमेरका ३ जना पुरुषहरुलाई कोरोना पुष्टि भएको हो ।यसैगरी वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा ५ जनालाई कोरोना पुष्टि भएको छ । जसमा सप्तरी राजविराजका २० देखि २६ वर्ष उमेरसम्मका ४ र झापा भद्रपुरका १ जना पुरुष छन् ।आजै नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ९ जनालाई कोरोना पोजेटिभ देखिएको छ । जसमा बारा चन्द्रौटा राष्ट्रिय मावि क्वारेन्टाइनका २७ देखि ४५ वर्ष उमेरसम्मका ४ जना पुरुष,पर्सा पोखरीयाका २१ देखि ४२ वर्ष उमेरसम्मका ४ जना पुरुष र पर्सा जीराभवानीपुरका ३४ वर्षका पुरुष छन् । पाटन अस्पतालमा गरिएको परीक्षणका सर्लाहीकी ३१ वर्षकी महिलालाई कोरोना पुष्टि भएको छ । हाल उनी पाटन अस्पतालमा नै रहेका छन् । यस्तै गण्डकी अस्पतालमा गरिएको परीक्षणमा म्याग्दी मालिकाका ३० वर्षका पुरुषलाई कोरोना पोजेटिभ देखिएको छ भने भेरी अस्पताल बाँकेमा गरिएको परीक्षणमा १० जनामा कोरोना संक्रमण देखिएको छ जसमा सबै जना बाँके डुडुवाका १७ देखि ४१ वर्षउमेर सम्मका हुन् । यसैगरी भरतपुर अस्पतालमा गरिएको परीक्षणमा कपिलवस्तुका २३ देखि २६ वर्षउमेरका ४ जना पुरुष र नवलपरासी बर्दघाट देवचुलीका १९ र २१ वर्ष उमेरका २ जना पुरुष हुन् ।
आइसोलेसनमा उपचाररत संक्रमितहरु
प्रदेश नम्वर १ मा ३०, प्रदेश नम्वर २ मा १०२, बागमती प्रदेशमा २०, गण्डकी प्रदेशमा २, प्रदेश नम्वर ५ मा ४७ र सुदुरपश्चिममा ५ जना आइसोलेसनमा उपचाररत छन् ।
संक्रमितको प्रादेशिक विवरण
हालसम्म ५२ जिल्लामा कोरोना संक्रमण फैलिएको छ । कोरोनाबाट प्रदेश नम्वर २ अति प्रभावित भएको छ त्यहाँका सबै आठ जिल्लामा गरि ४९० जनालाई कोरोना पुष्टि भएको छ । प्रदेश नम्वर १ को ८ जिल्लामा १५७, बागमती प्रदेशका १२ जिल्लामा ४४, गण्डकी प्रदेशको ५ जिल्लामा २०, प्रदेश नम्वर ५ को ९ जिल्लामा ४३३,कर्णाली प्रदेशको ३ जिल्लामा ४७ र सुदुरपश्चिमका ५ जिल्लामा २१ जनालाई कोरोना संक्रमणको पुष्टि भइसकेको छ ।
पछिल्लो २४ घण्टामा ३ हजार ५८० पीसीआर परीक्षण
प्रवक्ता देवकोटाका अनुसार, पछिल्लो २४ घण्टामा ३ हजार २३८ जनाको पीसीआर र आरडीटिबाट ३ हजार ४४४ जनाको परीक्षण भएको छ । हालसम्म पीसीआरबाट ६४ हजार १५४ जना र १ लाख ५ हजार ४७८ जनाको आरडीटिबाट परीक्षण भएको छ ।
२०६ जना निको भए
कोरोना संक्रमितहरु निको हुने क्रम बढ्दै गएको छ । आज टेकू अस्पतालबाट २,पाटन अस्पतालबाट ७,सशस्त्र प्रहरी अस्पताल बलम्बुबाट २,कोरोना विशेष अस्पताल दाङबाट ८ जना गरि आज १९ जना डिस्चार्ज भएका छन् ।यो संगै निको भएर घर जानेको संख्या २०६ पुगेको छ ।
जसको प्रादेशिक विवरण अनुसार प्रदेश नम्वर १ मा ३०, प्रदेश नम्वर २ मा १०२, बागमती प्रदेशमा २०, गण्डकी प्रदेशमा २, प्रदेश नम्वर ५ मा ४७ र सुदुरपश्चिममा ५ जना गरि २०६ जना निको भएर घर गएका छन् ।

९९ हजार ३३६ जना क्वारेन्टाइनमा
आज देशभर ९९ हजार ३३६ जना क्वारेन्टाइनमा बसिरहेका छन् । क्वारेन्टाइनमा बस्नेको संख्या बढ्दै गएको छ । आज क्वारेन्टाइनमा बस्नेको संख्या अहिले सम्मकै धेरै हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्