झापा, जेठ १६ । कोरोना संक्रमितहरुको ‘हटस्पट’ बनेको झापाको कचनकवलमा संक्रमितहरुको संख्या एक सय पुगेको छ ।

आज २७ जना थपिएसँगै कचनकवलमा मात्र सय जना संक्रमित पुगेका हुन् । महेन्द्र रत्न मावि केचनाको क्वारेन्टाइनमा रहेका थप २७ जनामा आज कोरोना पुष्टि भएको हो । हिजो सोही क्वारेन्टाइनका २५ जनामा कोरोना संक्रमण देखिएको थियो । हालसम्म पथरीया माविका १०, लक्ष्मीप्रसाद देवकोटा आधारभूत विद्यालय सुकुनाडिगीका २३ , जानकी आधारभूत विद्यालय पाठामारीका १५ र महेन्द्र रत्न माविका ५२ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमितहरु सबै भारतबाट आएका ब्यक्ति हुन् । पहिलो चरणमा स्वाब संकलन गरिएका सबैको रिपोर्ट आइपुगेको कचनकवल गाउँपालिकाका प्रवक्ता लक्ष्मीनारायण यादवले बताए । उनले दोस्रो चरण आजदेखि क्वारेन्टाइनमा रहेका थप ब्यक्तिहरुको स्वाब संकलन गर्न थालिएको उनले जानकारी दिएका छन् । आज लक्ष्मी मावि बनियानीका १३१ जनाको नमूना संकलन गरिएको छ । कचनकवलमा सयजना थपिएसँगै झापामा कोरोना संक्रमितको संख्या १०७ पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्