झापा, जेठ १६ । करीव ५ किलोमिटर धाएर स्वास्थ्य सेवा लिन जानु पर्ने झन्झट अब बाह्रदशी— १ का बासिन्दाले ब्यहोर्नु नपर्ने भएको छ । वडामै स्वास्थ्य केन्द्र बनिने भएपछि सिमावर्ती क्षेत्रबाट राजगढ बजार पुग्नु पर्ने समस्याबाट उनीहरुलाई छुटकारा मिल्ने भएको हो ।

स्वास्थ्य केन्द्रको शिलान्यास गरिदै

आज बाह्रदशी— १ भागुडुब्बामा आधारभूत स्वास्थ्य केन्द्रको शिलान्यास गरिएको छ । जग्गादाता रामनाथ राजवंशी, गाउँपालिका अध्यक्ष खड्गप्रसाद राजवंशी र वडाध्यक्ष शम्भुसिंह राजवंशीले संयुक्तरुपमा त्यसको शिलान्यास गरेका हुन् । संघीय सरकारको ४४ लाख २२ हजार ८९७ रुपैयाँको लागतमा सो स्वास्थ्य केन्द्र निर्माण हुन लागेको हो । समता र नेपाल पूर्वाधार जेभीले त्यसको ठेक्का पाएका छन् । गत बैशाख २४ गते संझौता गरेको ठेकेदार कम्पनीले २०७७ पुष ९ गते काम सम्पन्न गर्नु पर्ने छ । स्वास्थ्य केन्द्रमा हेल्थ असिस्टेन्ट, अनमी र कार्यालय सहयोगी गरी तीन जनाको दरवन्दी रहने वडाध्यक्ष राजवंशीले बताए । उनले वडामै स्वास्थ्य केन्द्र बनिने भएपछि अब वडाबासीहरुलाई सुबिधा मिल्ने धारणा राखे । स्वास्थ्य केन्द्रका लागि स्थानीय रामनाथ राजवंशीले ४ कठ्ठा जग्गा निःशुल्क दिएका थिए । उनले आफ्ना स्वर्गीय पिता छतरसिंह राजवंशी र माता ढलनदेवी राजवंशीको संझनामा जग्गा दान दिएको बताएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्