झापा,जेठ १६ । भारतबाट मेची पुलमा आएका नेपालीलाई आरडीटी, पीसीआर र ज्वरोसमेत जाँच नगरी विभिन्न क्वारेन्टाइन र होल्डिङ एरियामा राखिदा झापामा कोरोना संक्रमणको जोखिम उच्च भएको छ ।

पूर्वी सीमा नाकाबाट नेपाल आउने र भारत जाने मानिसको भीड बढेसँगै मेचीनगर, बिर्तामोड , शिवसताक्षी, दमक लगायतका क्षेत्रमा कोरोना संक्रमणको जोखिम उच्च बनेको हो ।
कोरोनाको जाँच नै नगरी दिनैपिछे नेपाल आउने र भारत जाने मानिसको संख्या बढेसँगै जोखिम बढेको काँकरभिट्टाका स्थानीयको दुखेसो छ । भारतसँगै सीमा जोडिएको भद्रपुर नगरपालिका , कचनकवल, बाह्रदशी र झापा गाउँपालिकामा संक्रमण देखिइसकेको छ । काँकरभिट्टा नाका र कुञ्जीबारी नाकाबाट गौरादह ९ का युवामा पनि कोरोना संक्रमण पुष्टि भइसकेको छ । “हाम्रो नगरपालिकाको सीमा भारतसँग जोडिएको छैन, त्यसले हामी सुरक्षित छौं भन्ने लागेको थियो“ गौरादह —९ का वडासदस्य कृष्ण गौतमले भने, “ सीमाबाट उद्दार गरिएकाको स्वास्थ्य जाँच गर्न सकिएन भने समस्या जटिल बन्ने देखियो ।”
भारतबाट पानीट्याङ्की नाका हुँदै मेचीपुल आएका नेपाली नागरिक तथा पश्चिम नेपालदेखि भारत हिडेका सयौँ भारतीयका कारण पूर्वी नाका काँकरभिट्टा झन् बढी कोरोनाको जोखिममा परेको छ । ईलाका प्रहरी कार्यालय काँकरभिट्टाका डिएसपी राजेन्द्र पोखरेलले एकहप्तामा करिव २ हजार भन्दाबढी नेपाली नागरिक भारतबाट आएको बताए । बिहीबार दिउँसो मात्र करिब २ सय जना नेपालीलाई मेची पुलबाट सम्बन्धित जिल्लाको क्वारेन्टाइन पठाइएको उनले जानकारी दिए । मानिस आइरहेकाले आजको संख्या अहिले नै यकिन नहुने डिएसपी पोखरेलको भनाइ छ । हिजो बाँकी रहेका नेपालीलाई काँकरभिट्टा माविको होल्डिङ एरिया, आदर्श मावि ईटाभट्टा तथा धाइजनको स्वास्थ्य चौकीको क्वारेन्टाइनमा राखिएको डिएसपी पोखरेलले बताए । उनीहरुलाई मेचीनगर नगरपालिकाले खानाको व्यवस्था गरेको छ ।सीमामा आउनेलाई जिल्ला प्रशासन कार्यालय झापाबाट सवारी पास इमेलमार्फत प्रहरीलाई पठाएर सम्बन्धित जिल्लाको क्वारेन्टाइनमा पठाउने गरिएको छ ।भारत जानेहरु काँकरभिट्टा बसपार्क र भारतबाट आउने नेपाली मेचीपुलमा अलपत्र पर्ने गरेका छन् । निसंक्रमणबिना नै दैनिक सयौँ भारतीय मालबाहक गाडी नेपाल भित्रिरहेकाले पनि संक्रमणको जोखिम उच्च बनेको स्वास्थ्यसम्बद्धहरुको भनाइ छ ।कोरोना संक्रमण रोकथाम नियन्त्रण तथा अनुगमन समिति झापाका संयोजक सोमनाथ पोर्तेलले भारतबाट आउने १ नम्बर प्रदेश बाहेकका जिल्लाका नागरिकलाई सम्बन्धित क्वारेन्टाइनमा बस्नेगरीको पत्र दिएर पठाउने गरिएको बताए । उनका अनुसार प्रदेश १ का नागरिकलाई भने झापाका पालिकाहरुको क्वारेन्टाइनमा राख्ने गरिएको छ ।
‘भारतबाट आउने नेपालीहरुले नाकामा जुलुस लगाउन थालेपछि भित्राउन थालिएको हो’ संयोजक पोर्तेलले भने,‘ उनीहरुको पीसीआर र आरडीटी सम्बन्धित जिल्लाको क्वारेन्टाइनमा टेष्ट गर्ने गरी पठाइने गरेको छ ।’ झापामा कोरोना संक्रमितको संख्या १०७ पुगेको छ । यद्यपि , सीमामा चेकजाँच गर्ने कुरामा कसैको ध्यान जान सकेको छैन । सीमामा आउनेको धमाधम उद्दार गरिएको र क्वारेन्टाइनमा राखिएको बताइए पनि अवस्था टिठलाग्दो छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्