झापा, जेठ २० । प्रधानमन्त्री केपी ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई सोमबार बिहान राष्ट्रपति कार्यालय शीतल निवास पुगेर कोभिड–१९ नियन्त्रणका निम्ति सेना परिचालन गर्ने सरकारको निर्णय अवगत गराएका छन् ।

फाइल फोटो

प्रधानमन्त्री ओलीले राष्ट्रपतिसँगको भेटमा पछिल्लो राजनीतिक गतिविधि, सरकार सञ्चालन र कोभिड–१९ को कारण देखा परेको असहज अवस्थाबारे जानकारी दिएका हुन्। ‘उहाँहरूबीच सरकार सञ्चालन, समसामयिक विषयवस्तु र घटनाक्रमबारे छलफल भएको हो। सरकार सञ्चालन र पछिल्लो अवस्थाबारे प्रधानमन्त्रीले रिपोर्टिङ गर्नुभएको हो,’ राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारीले भने, ‘यो नियमित ब्रिफिङ र भेटघाटको सिलसिला हो। सञ्चार माध्यममा सेना परिचालन र अन्य विषयमा जानकारी दिन प्रधानमन्त्री आउनुभएको भनिए पनि त्यसप्रकारको छलफल भएको जानकारी छैन ।’
विपद्मा मन्त्रिपरिषद्ले सेना परिचालन गर्न सक्ने संवैधानिक व्यवस्था छ र त्यहीअनुसार सेनाकै छाउनीमा कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) पनि स्थापना भएको हो। विदेशबाट फर्कने र प्रभावित क्षेत्रमा सेना परिचालन गर्ने सरकारले जनाइसकेको छ । यो विषय मन्त्रिपरिषद्बाट शनिबार सीसीएमसीले तयार गरेको कार्ययोजना पनि पारित भइसकेको छ । त्यहीअनुरूप काम हुने सरकारले कार्ययोजना सार्वजनिक गरिसकेको छ । कोभिड १९ का लागि सेना पहिलेदेखि कार्यरत भए पनि सेना परिचालन गर्ने भन्ने निर्णय शनिबार मन्त्रिपरिषद् बैठकपछि सुनाएको र तेस्रो दिन प्रधानमन्त्री ओली शीतल निवास पुगेपछि अनेकन अड्कल भएको बालुवाटार स्रोतले बतायो। प्रधानमन्त्री ओली आफ्ना सुरक्षा अधिकारीहरूसँग शीतल निवास पुगेको र करिब डेढ घण्टापछि बालुवाटार फर्किएको उनको सचिवालयले जनाएको छ ।
विकास निर्माण र विपद्बाहेक अन्य कुनै अवस्थामा सेना परिचालन गर्नुपरेको खण्डमा मात्र सुरक्षा परिषद्बाट पारित गर्दै त्यसलाई मन्त्रिपरिषद्ले स्वीकृत गर्नुपर्छ । मन्त्रिपरिषद्को निर्णय राष्ट्रपतिबाट अनुमोदन गर्नुपर्ने संवैधानिक व्यवस्था छ । त्यसका लागि औपचारिक पत्राचार आवश्यक पर्छ तर त्यस्तो कुनै पत्राचार नभएको प्रमुख स्वकीय सचिव डा. अधिकारीले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्