झापा, जेठ २३ । भद्रपुरस्थित मेची अञ्चल अस्पतालको निर्माणाधीन भवनको गुणस्तरबारे प्रश्न उठेको भएपनि नियामक निकाय बेखवर बस्ने गरेको छ ।

निर्माण ठेकेदार कम्पनीका पेटी ठेकेदारका कामदारका भरमा निर्माण भइरहेको भवनमा सरकारी नियामकको उपस्थिति न्यून हुँदा गुणस्तरमाथि प्रश्न उठेको हो ।
अधिकांस पेटी ठेकेदार भारतीय रहेको अस्पताल भवनमा प्रयोग भइरहेका निर्माण सामग्री न्यून गुणस्तरका रहेको स्थानीयको भनाइ छ । निर्माण मापदण्ड अनुसार गिटी, बालुवा, सिमेन्ट, रडलगायतका सामग्री प्रयोग नभएको प्रत्यक्षदर्शी बताउने गर्छन् । पछिल्लो पटक वाल प्लास्टर सुक्न नपाउँदै रङ लगाइने कार्यले भवनमा आवश्यक पर्ने पानीको सन्तुलन समेत मिल्न सकेको छैन ।पछिल्लो समय कोरोना अस्पताल बनाउने हल्ला चलेपछि आसपासका बासिन्दाले समेत निर्माण गुणस्तरमाथि चासो राख्न छाडेका छन् । जसको फाइदा ठेकेदारले लिइरहेको छ । सरकारी नियामक आउँदै नआउने, आँउदा पनि ठेकेदार पक्षको कामलाई सदर गरेर जाने गरेको आसपासका बासिन्दा बताउने गर्छन् ।
प्रत्यक्षदर्शी स्थानीयका अनुसार निर्माणस्थलमा सरकारी प्राविधिकको रेखदेख देखिँदैन । निर्माण कम्पनीका पेटी ठेकेदारका कामदारका भरमा निर्माण कार्य चलिरहेको छ । भवन निर्माण गुणस्तरमाथि प्रश्न उठिरहेको भए पनि हेर्ने फुर्सद सरकारी पक्षसित छैन भने राजनीतिक दल तथा स्थानीय सरोकारवाला निकायले समेत बेवास्ता गरिरहेका छन् । जसले ५० औ वर्ष खप्नु पर्ने भवन केही वर्षमै ढल्ने अवस्थाको निर्माण हुने हो कि भन्ने शंका पनि उत्पन्न भइरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्