झापा, जेठ २४ । कोरोनाको महामारीमा निजी अस्पतालको भूमिका नदेखिएको कुरा झापा बाह्रदशीको उदाहरणले पनि पुष्टि गरेको छ ।

विद्यालयमा संचालित क्वारेन्टाइन

बाह्रदशी गाउँपालिकाले राजगढको एस्टार हस्पिटलमा क्वारेन्टाइन स्थापना गरेको थियो । तर, सो हस्पिटलले भनेबमोजिमको सहयोग नगरेपछि गाउँपालिकाले क्वारेन्टाइनलाई त्यहाँबाट सार्नुपर्यो । गाउँपालिकाले बाध्य भएर क्वारेन्टाइनलाई पशुपति माध्यमिक विद्यालयमा सार्नु परेको हो । कोरोना संक्रमण देखा पर्न थालेपछि एस्टार हस्पिटलमा बैशाखको पहिलो सातातिर ४० बेडको क्वारेन्टाइन स्थापना गरिएको थियो । झापामा पहिलो संक्रमित बाह्रदशीमै पुष्टि भएको थियो । एकपछि अर्को सक्रमित थपिदै गएका बेला हस्पिटलले अनेक बखेडा झिकेपछि त्यहाँबाट विद्यालयमा सार्नुपरेको गाउँपालिकाका अध्यक्ष खड्गप्रसाद राजवंशीले बताए । अस्पतालहरुले यो महामारीका बेलामा पनि सेवाभन्दा व्यावसायिकता मात्र हेर्ने गरेको उनले गुनासो गरे । एस्टार हस्पिटलबाट सारेर विद्यालयमा पनि ४० बेडकै क्वारेन्टाइन संचालन गरिएको अध्यक्ष राजवंशीले जानकारी दिए ।

क्वारेन्टाइनमा आराम गर्दै

निजी अस्पतालमा भन्दा अझ ब्यबस्थित रुपमा विद्यालयमा क्वारेन्टाइन संचालन गरिएको संचालनको जिम्मेवारी पाएका वडा नं ३ का वडाध्यक्ष विरेन्द्रप्रसाद राजवंशीले बताए । उनले क्वारेन्टाइनको ब्यबस्थापन, त्यहाँ बस्नेहरुको काउन्सिलिङ , खानपान, सरसफाइलगायतका काममा आफूहरुको प्रत्यक्ष संलग्नता रहेको जनाए । गाउँपालिकाले भारतीय क्षेत्रबाट सीमामा आइपुग्नेहरुलाई सिधै क्वारेन्टाइनमा ल्याएर राख्ने गरेको छ । हाल त्यस क्वारेन्टाइनमा १२ जना रहेका छन् । बाह्रदशीमा हालसम्म ४ जनामा संक्रमण पुष्टि भएको छ । त्यसमध्ये एकजना निको भएर घर फर्किसकेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्