कनकाई, असार ८ । कोरोना भाइरस संक्रमित महिलाको समुदायमा सम्पर्क देखिएपछि आजदेखि कनकाई नगरपालिकाको ७ वटा वडा सिल गरिएको छ ।

नगरपालिकाको १ देखि ७ नं वडा सिल गरिएको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रुद्रप्रसाद न्यौपानेले संक्रमित व्यक्तिको सम्पर्कमा आएकाहरुको कन्ट्याक ट्रेसिङका आधारमा परीक्षण गर्नुपर्ने भएकाले असार १३ गतेसम्मका लागि एरिया सिल गरिएको बताए ।
नगरपालिकाले सार्वजनिक सूचना जारी गरी असार १३ गतेसम्म बजार, कलकारखाना र सम्पूर्ण बैक तथा वित्तीय संस्था बन्द गर्ने निर्णय गरेको जानकारी दिएको छ । हिजो कोरोना संक्रमण पुष्टि भएकी कनकाई ७ की ३१ वर्षिया महिलाको सम्पर्क समुदायसम्म रहेको पाइएको हो । उनी गत जेठ २८ गते कुवेतबाट काठमाण्डौ आएकी थिइन् । त्यहाँबाट आएर उनी भद्रपुरको होल्डिङ सेन्टरमा बसेकी थिइन् । त्यसपछि उनले आफूलाई कोरोना नेगेटिभ भएको बताउँदै घरमा आएर बसेकी थिइन् । हिजोको परीक्षणमा ती महिलामा पोजेटिभ देखिएपछि कनकाई नगरपालिकामा त्रास फैलिएको छ । ती महिलाको सम्पर्कमा आएका सबैको कन्ट्याक्ट ट्रेसिङका आधारमा परीक्षण गर्न लागिएको हो । उनको परिवारका ५ जना सदस्य र उनले भेटघाट गरेका ब्यक्तिको खोजी गरी स्वाब संकलन गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्