भद्रपुर, असार १५ । १३ औँ राष्ट्रिय धान दिवसको अवसर पारेर भद्रपुर १० स्थित सत्यलक्ष्मी कृषि सहकारी संस्थाले सामूहिक धान रोपाँई गरेको छ ।

‘धान उत्पादनमा लागौं खाद्यान्नमा आत्मनिर्भर बनौं’ नाराका साथ भद्रपुर १० विपि टोलस्थित राधाकृण अधिकारीको खेतमा सामूहिक धान रोपाँई गरिएको हो ।
सहकारीका उपाध्यक्ष दीपबहादुर राउतले औचित्यमाथि प्रकाश पारेको कार्यक्रम अध्यक्ष नयाँनाथ पाण्डेको अध्यक्षता एवम् बचत तथा ऋण सहकारी संघ झापाका अध्यक्ष घनश्याम अधिकारीको प्रमुख आतिथ्यमा भएको थियो । सामूहिक धान रोपाँई कार्यक्रममा भद्रपुर १० का अध्यक्ष टेकबहादुर खड्का काजी, साना किसान सहकारीकी अध्यक्ष देवीमाया अधिकारी, हनुमान टोल विकासका अध्यक्ष खड्गबहादुर बुढाथोकीलगायतले शुभकामना मन्तव्य राख्दै जमिन बाँझो छोड्ने परम्परा सधैका लागि अन्त्य हुनु पर्ने धारणा राखेका थिए । ‘मानो रोपेर मुरी उब्जाउने’ महिना मानिने असारको मध्य दिन आज धान दिवससंगै रोपाईं जात्राका रुपमा मनाउने गरिन्छ । आजको दिन खेतमा धान रोपाईं संगै आपसमा हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्ने तथा दही चिउरा खाने गरिन्छ । कामको चटारोले थकित भएका किसानलाई दही र चिउराले शक्ति र शीतलता प्राप्त हुने विश्वास छ । खेतीपाती बाहेक अन्य पेसा र व्यवसाय रहेकाहरुले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन् ।

नेपालले २०६२ सालदेखि असार १५ लाई धान दिवसका रुपमा मनाउँदै आएको छ । धान दिवसको अवसरमा कास्कीमा विशेष रोपाईं महोत्सव गर्ने गरिएको छ । धान नेपालको प्रमुख खाद्यान्न बाली हो । कुल ग्राहस्थ उत्पादनको ७ प्रतिशत, कृषिमा २० प्रतिशत र कुल खाद्यान्न उत्पादनको ५५ प्रतिशत धानबालीले योगदान पु¥याएको छ । कृषि विभागका अनुसार नेपालमा करिब १४ लाख हेक्टर जमिनमा ४७ लाख मेट्रिक टन धान उत्पादन हुने गरेको छ । तराईमा करिब ७० प्रतिशत, पहाडी क्षेत्रमा २६ प्रतिशत र हिमाली क्षेत्रमा ४ प्रतिशत जमिनमा धानबाली लगाइन्छ । गत वर्ष धान उत्पादन १० प्रतिशतले घटेको कृषि विभागको तथ्याङ्क छ ।युवा जनशक्ति पलायन, सिमित व्यक्तिका हातमा धेरै जमिन, जग्गाको खण्डीकरण, खेतीयोग्य भूमि घडेरीमा परिणत गर्नु, आकासे खेतीमा निर्भर, सिँचाइको व्यवस्था नहुनु, उन्नत जातका बीउवीजन तथा मलखाद तथा अनुदानको राम्रो व्यवस्था नहुँदा धानको उत्पादनमा असर परेको विज्ञहरुले बताएका छन् । उन्नत जातका धानका बीउमा किसानको पहुँच पुग्ने हो भने २० प्रतिशतसम्म धान उत्पादनमा वृद्धि गर्न सकिने धानविज्ञ भोलामान सिंह बस्नेतले बताए । अहिले नेपालको धान उत्पादकत्व ३.१७ मेट्रिक टन÷प्रति हेक्टर छ, यसलाई बढाएर ४ मेट्रिक टन÷प्रति हेक्टर बनाउन सकेमात्र पनि मुलुकभित्रको मागलाई पुरा गर्न सकिने उनले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्