भद्रपुर, असार १५ । मेची बहुद्देश्य कृषि फर्म भद्रपुर ४ ले यस वर्ष कृषि ज्ञान केन्द्र झापाको सहकार्यमा सञ्चालित पकेट बालीअन्तर्गत तरकारी खेतीसम्बन्धी परियोजना कार्यबारे सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ ।

कृषि फर्म सञ्चालक समितिका अध्यक्ष विजय रिजालको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा परियोजना सञ्चालनस्थलमा सार्वजनिक सुनुवाई सम्पन्न गरिएको हो ।
परियोजना संयोजक ज्ञानबहादुर चौहानले परियोजनाअन्र्तगत ४ वटा डिप बोरिङ गाडिएको, तरकारीका बेर्ना उत्पादनका लागि प्लाष्टिक टनेल निर्माण, अर्गानिक मल उत्पादनका लागि गड्यौला मल केन्द्र निर्माण, पावर ट्रेलर खरिद लगायत विभिन्न जातका तरकारी खेती गर्दा १३ लाख ५० हजारको काम सम्पन्न भएको प्रतिवेदन प्रस्तुत गरेका थिए । चौहानले ५०—५० प्रतिशत सहकार्यमा सञ्चालित परियोजना कार्यका लागि कृषि ज्ञान केन्द्र झापाले ६ लाख ७५ हजार अनुदान सहयोग तथा फर्मले ६ लाख ७५ हजार लगानी गरेको जनाएका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख श्रेष्ठले विषादिरहित खेतीमा जोड दिनु पर्ने धारणा राख्दै वर्षे तरकारी उत्पादन गरी नगरका लागि योगदान दिन सक्नु पर्ने बताए ।
अध्यक्ष रिजालले दिएको जानकारी अनुसार भद्रपुर गौशालाको स्वामित्वमा रहेको १५ विगाह जग्गा वार्षिक २ लाख ४३ हजार भाडा तिर्ने गरी व्यावसायिक खेती थालिएको हो । जसमा सिजनेवल तरकारी र फलफुलको खेती हुँदै आएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्