विराटनगर , असार १६ । यस वर्ष प्रदेश १ मा कुल धानखेती हुने क्षेत्रमध्ये २१ प्रतिशतभन्दा बढीमा धान रोपाई सम्पन्न भएको छ ।

आकासे पानीमा निर्भर अधिकांश उकास जमिनमा यस पटक रोपाई सम्पन्न भइसकेको छ । सिंचाइ सुविधा भएका खेतमा पनि धमाधम रोपाईको क्रम जारी रहेको प्रदेश कृषि निर्देशनालयले जानकारी दिएको छ । पहाडी जिल्लाहरुमा ५० प्रतिशतभन्दा बढी खेतहरुमा रोपाई सम्पन्न भएको छ भने तराईका तीन जिल्लामा सरदर २१ प्रतिशत रोपाई भएको छ । धान उत्पादनका दृष्टिले महत्वपूर्ण मानिएको झापा, मोरङ र सुनसरी जिल्लामध्ये मोरङमा ३० प्रतिशत खेतमा रोपाई सम्पन्न भएको छ । सुनसरीका २५ प्रतिशत खेतमा रोपाई सकिएको छ । झापामा भने भर्खर रोपाई सुरु भएको छ । झापामा करिव ५ प्रतिशत मात्र रोपाई भएको भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जानकारी दिएको छ । असार १४ गतेसम्म सोलुखुम्बुमा करिव ६० प्रतिशत रोपाई सकिएको छ । सोलुमा एक हजार ५२५ हेक्टर क्षेत्रफलमा धानखेती हुन्छ । तेह्रथुममा ५० प्रतिशत, धनकुटामा ४० प्रतिशत ओखलढुंगामा १७ प्रतिशत, खोटाङमा ३० प्रतिशत, उदयपुरमा २० प्रतिशत भोजपुरमा ४० प्रतिशत खेतमा रोपाई भइसकेको छ । मेची पहाडी जिल्लाहरुमा भने भर्खर रोपाई सुरु भएको छ । ताप्लेजुङमा १४ प्रतिशत, इलाममा १५ प्रतिशत, पाँचथरमा १७ प्रतिशत, संखुवासभामा १० प्रतिशत रोपाई भएको छ । सरकारले धान उत्पादनलाई बढाउन आधुनिक प्रविधिको अवलम्बन गर्ने र खेतीलाई यान्त्रीकरण गर्दै लैजाने भनेपनि त्यसमा उल्लेख्य प्रगति भने हुन सकेको छैन । प्रदेश १ को ३ लाख ४० हजार ८ सय २९ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्