दमक, असार १६ । अन्तर्राष्ट्रिय लिम्बू टिकटक प्रतियोगिताको उपाधि इलाम, माङ्सेबुङ् निवासी युनिशा साँबाले जितेकी छन् । हिजो सोमबार सम्पन्न प्रतियोगिताको फाइनलमा उनले उपाधिसंगै नगद २० हजारसहित प्रमाणपत्र प्राप्त गरेकी छन् ।

हङकङमा रहेर नेपाली कला संस्कृतिका अभियन्ताका रुपमा चिनिएका फुलेन्देको बाउ उपनामले परिचित मौसम लिम्बूद्वारा आयोजित प्रतियोगितामा धरान–१० की हाङ्सु आङबुहाङ् दोश्रो र झापा शिवसताक्षीका समिर जवेगुको समूह तृतीय भएको छ । दोश्रो र तेश्रो प्रतियोगीले नगद १० हजार र ७ हजार ५ सय रुपैयाँ हात पारेका छन् । सान्त्वना पुरस्कार प्राप्त गर्ने मिक्लाजुङ्, पाँचथरका ओसिन आङ्देम्बे लिम्बुको समूहले नगद ५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।
त्यसैगरी जुरीतर्फ ३ वटा समूहहरु लिम्बू ब्वाईज ग्रुप भारत सिक्किमलाई सर्वोत्कृष्ट टिकटक नृत्य, दिलमाया पन्धाक लिम्बू समूह बुद्धशान्ति झापालाई सर्वोत्कृष्ट कोरियोग्राफी र तुलसा नेम्बाङ्कको समूह पथरीशनिश्चरे मोरङ्लाई सर्वोत्कृष्ट टिकटक भिडियो घोषणा गरी प्रत्येक समूहलाई १० हजार रुपैयाँ र तेह्रथुमे ढाका बुटिक नखिपोट ललितपुरको तर्फबाट आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिएको छ ।
लिम्बू कला संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यले कोरोना कहरसँगै गरिएको लकडाउनमा संसारभरका लिम्बू गीत,संस्कृतिलाई प्रचारप्रसार गराउने अभिप्रायले दुई महिनादेखि अनलाइन प्रतियोगिता सञ्चालन गरिएको थियो ।
फूलन्देको बाउ नामको फेसबुक पेजको एडमिनबाट सञ्चालन गरिएको टिकटिक प्रतियोगितालाई प्रोत्साहन गर्न विभिन्न व्यक्तित्वहरुले नगदसहित अन्य गिफ्ट ह्याम्पर समेत प्रायोजन गरेको आयोजक इम्बुङ्ले बताएका छन् । प्रतियोगिता सम्पन्न गर्न बेलायतमा कार्यरत नेम खापुङ् र एनजे माबोहाङ्बाट ५९ हजार रुपैयाँ प्राप्त भएको थियो । तेह्रथुमे ढाका बुटिकबाट मायाको चिनो, त्यसैगरी इजरायलबाट नुमा काङ्भा र आईतरानी फाउण्डेशनका गायक र संगीतकार सुजन तिगेला र हङकङमा कार्यरत चिना वनेमद्वारा गैर लिम्बू प्रतियोगीहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।
लिम्बू भाषा, संस्कृतिको जगेर्नासँगै सांस्कृतिक रुपान्तरण हाम्रो अभियान भन्दै शुरु गरिएको प्रथम अन्तर्राष्ट्रिय लिम्बू टिकटक प्रतियोगिताले संसारभर छरिएर रहेका भाषाप्रेमीहरुलाई सामाजिक संजाल मार्फत भेट्ने अवसर मिलेको कलाकार तथा निर्देशक समेत रहेका आयोजक इम्बुङले बताएका छन् । प्रतियोगितामा ५ सयभन्दा धेरै टिकटकहरु मध्येबाट १ सय ७५ वटा टिकटकहरु अपलोड् गरिएको थियो । टिकटक अपलोड भएको १ महिना अवधिमा सबैभन्दा धेरै लाईक, सेयर र भ्यूज पाउने भिडियो नै विजेता बनेका हुन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्