बिर्तामोड, असार २० । झापा बिर्तामोड नगरपालिका ३ करेलाबारी निवासी मिर्गौला पीडित भीमबहादुर नेपालीले आफ्नो उपचारका लागि सहयागको याचना गरेका छन् ।

मिर्गौला पीडित भीमबहादुर नेपाली

आर्थिक अवस्था अत्यन्त कमजोर रहेका नेपालीको दुवै मिर्गौला खराब भएको छ । दुवै मिर्गौलाले काम नगरेपछि ५ महिनादेखि नियमित डायलासिस गराउँदै आएका छन् । हप्तामा दुईपटक डायलासिस गर्नुपर्ने भएकाले खर्च जुटाउन गाह्रो भएको पीडित नेपालीले बताए । उनका अनुसार एकपटक डायलासिस गर्न अस्पताल जाँदा ७ हजार रुपैयाँ खर्च लाग्छ । हप्तामा दुईपटक डायलासिस गराउँदै आएको उनले बताए ।
४२ बर्षीय नेपालीको आफ्नो घर भिट्टा समेत छैन । श्रीमती बिताएका उनको एक छोरी मात्र छिन् । छोरीको अभिभावक उनी आफै थलिएपछि उपचार खर्च धान्न र बिहान–बेलुकाको छाक टार्न समेत गाह्रो भएको उनले दुख सुनाए । छोरीसहित उनी अहिले बहिनी–ज्वाँइसँग बस्दै आएका छन् । नेपाली सिलाईकटाईको काम गर्थे । उनले भद्रपुरस्थित ओम साई पाथीभरा अस्पतालमा डायलासिस गराउँदै आएका छन् ।
आर्थिक अभावमा नियमित डायलासिस गराउन समेत गाह्रो भएपछि करेलाबारी टोलका स्थानीयले ‘भीमबहादुर नेपाल बचाऊ समिति’ गठन गरेका छन् । कुमार बर्देवाको संयोजकत्वमा गठित समिति मातहतमा रहने गरी करेलाबारी टोल विकास समितिका अध्यक्ष कुमार कन्दङ्वा संयोजक रहेको तीन सदस्यीय आर्थिक सहयोग संकलन समिति समेत गठन गरिएको छ । दुवै समितिका सदस्य तथा करेलाबारीका स्थानीयहरु मिलेर शुक्रबारदेखि आर्थिक सहयोग संकलन गरिरहेका छन् । ‘हामीले आफ्नै गाउँबाट आर्थिक सहयोग उठाउन सुरु गरेका छौं । जसले जति सकेका छन् । सहयोग गरिरहेका छन् । आर्थिक सहयोग उठाएर उहाँको डायलासिस गर्नुबाहेक अर्को विकल्प छैन’ टोल समिति अध्यक्ष कन्दङ्वाले भने । उनले मनकारी दाताहरुलाई सहयोग गरिदिन आग्रह गरेका छन् । ‘घरमा एक पैंसा छैन । हप्तामा दुई पटक डायलासिस कसरी गराउनु ?’ बहिनी गोमा दर्जीले भनिन,‘हामीलाई हाम्रै परिवार चलाउन गाह्रो भइरहेको छ । खाना र बस्न जेनतेन दिइरहेका छौं । डायलासिस गराउन सक्ने हैसियत हाम्रो छैन ।’ सबैले सहयोग गरिदिए आफ्नो दाजु अझै केही समय बाँच्ने उनले बताइन ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्