विराटनगर । नेपाल कम्युनिष्ट पार्टीको प्रदेश १ अन्तरगतका १४ वटै जिल्ला पार्टी कमिटीहरु टुटफुट र विभाजनको विरुद्धमा एकजुट भएका छन् ।

विराटनगरमा आइतबार १४ जिल्लाका पार्टी नेतृत्व र प्रतिनिधिहरुको उपस्थितिमा पत्रकार सम्मेलन आयोजना गरेर जारी विवादले पार्टीलाई क्षति पुर्याउने भन्दै उनीहरुले नेतृत्वलाई गम्भीर हुन आग्रह गरेका छन् । दुई ठूला कम्युनिष्ट पार्टीहरु बीचमा एकता भई समाजवाद निर्माण गर्ने ऐतिहासिक कार्यभार वहन गर्ने जिम्मेवारी पुरा गर्न पार्टीले देशी विदेशी षड्यन्त्रलाई परास्त गनुपर्नेमा जिल्ला कमिटीहरुले सामुहिकरुपमा जोड दिएका हुन् ।पार्टी एकताको बाँकी कामलाई पूर्णता दिँदै समृद्ध नेपाल र सुखि नेपालीको नारालाई सार्थक बनाउन निर्वाचनको बेला जनताका बीचमा गरेको प्रतिवद्धता पुरा गर्नेतर्फ पार्टी नेतृत्वको ध्यान जानुपर्नेमा नेताहरुले जोड दिएका छन् । उनीहरुले पार्टी एकताको मर्म र भावना अनुरुप विवेकपूर्ण कदम चाल्न अनुरोध गरेका छन् । पार्टीका केन्द्रीय सदस्य गुरुप्रसाद बरालले अहिले आम कार्यकर्ता र शुभचिन्तकहरु पार्टी एकताको पक्षमा रहेकोले कसैले पनि फुट र विभाजनको कल्पना गर्न नहुने भन्दै सोही अनुसार सहमति कायम गर्ने प्रयत्न जारी रहेको बताए । पत्रकार सम्मेलनमा नेकपा मोरङका अध्यक्ष ऋषिकेश पोखरेल, सचिव गणेश उप्रेती, सुनसरीका अध्यक्ष योगेन्द्रप्रसाद मण्डल, धनकुटाका राजेन्द्र राई, खोटाङका सचिव रामप्रसाद ढंगाल, तेह्रथुमका अध्यक्ष लक्ष्मण तिवारी, इलामका अध्यक्ष राम राना, ताप्लेजुङका सचिव बलबहादुर साम्सोहाङ आदिको सहभागिता रहेको थियो । प्रदेशसभा सदस्यहरु उषाकला राई, सर्वध्वज साँवा, विमल कार्की लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्