महाभारा, असार ३१ । गौरीगञ्ज गाउँपालिका १ महाभाराका चन्द्र सुब्बाले माछापालन गरेको तीन वर्ष भयो । महाभारा एग्रो फार्म खोलेर व्यावसायिक रुपमा माछा पालेका सुब्बाले अहिलेसम्म कहीकतैबाट पनि अनुदान सहयोग पाएका छैनन् ।

माछालाई दाना दिदै सुब्बा

उनले आफ्नो १ विगाह ५ कठ्ठा जग्गामध्ये १५ कठ्ठामा ८ वटा पोखरी खनेका छन् । त्यसमा उनले पंघास, तेलिपिया, ग्रासकार्पलगायतका माछा पालेका छन् । गौरीगञ्ज गाउँपालिका वडा नं १ का जनप्रतिनिधिहरुको टोली पोखरी अवलोकनका लागि पुग्दा उनले अनुदान सहयोगका लागि भनेनन् । जनप्रनिधिहरुले खाँचो भए स्थानीय सरकारले सहयोग गर्नसक्ने बताउँदा उनले सहयोग होइन हौसलाको खाँचो भएको बताए । ‘किसानलाई अनुदान होइन, हौसला चाहिएको छ’ उनले भने ।सुब्बाले एकल लगानीमा सो फार्म खोलेको बताएका छन् । पोखरीका लागि ११ लाख रुपैयाँ लगानी गरिसकेको बताउने युवा कृषक सुब्बाले माछापालनलाई व्यावसायिक रुपमा अगाडि बढाउन खोजेको जानकारी दिए । साना—साना आकारका पोखरीमा ३० हजार भुरा उनले हालेका थिए । त्यसबाट ४ लाख रुपैयाँको माछा बिक्री गरिसकेको र अझै २५ सय माछा बेच्न बाँकी रहेको उनको भनाइ छ ।
यतिबेला स्थानीय क्षेत्रमा उत्पादित ताजा माछाको माग बढेको छ । मागसँगै मूल्य पनि बृद्धि भएको छ । उपभोक्ता र व्यापारीहरु माछा खोज्दै सुब्बाको पोखरीमा पुग्ने गरेका छन् । ‘माछाको लागि बजार खोज्नु पर्दैन’उनले भने,‘ग्राहकहरु माछा खोज्दै पोखरीमै आइपुग्छन् ।’ उनले तेलिपिया माछा ३०० र पंघास माछा ३५० रुपैयाँ प्रतिकेजी बेच्ने गरेको जनाए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्