झापा , असार ३१ । हिजो मोरङको उर्लाबारीबाट पक्राउ गरेको विप्लव समूहका पूर्वी कमाण्ड सैन्य विभाग प्रमुख नन्दकिशोर भनिने नन्दबहादुर बोहरालाई प्रहरीले विभिन्न स्थानमा विष्फोट र बम राखेको आरोपमा अनुसन्धान सुरु गरेको छ ।

प्रहरीले बोहरालाई एउटा कटुवा पेस्तोल, तीन राउण्ड गोली, डेटोनेटर र सकेट बम, नेपाल टेलिकमको सातवटा सीम, एनसेलका दुई वटा सीमकार्डलगायत सामग्रीसहित पक्राउ गरेको थियो । पक्राउ परेका बोहराले १० स्थानमा आपराधिक गतिविधि गरेको दाबी प्रहरीको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार बोहरामाथि बम बिष्फोट, बम राख्ने र हातहतियार सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ । बोहरामाथि मोरङको पथरी शनिश्चरे, सुन्दरहैचा नगरपालिकामा बम राखेको आरोप छ । मोरङ पथरी शनिश्चरे नगरपालिका–१ स्थित पूर्व पश्चिम लोकमार्गमा १२ चैत २०७४ मा सकेट बम भेटिएको थियो । १३ जेठ २०७६ मा सुन्दरहरैचा नगरपालिका वडा नं ७ ठडिया स्थित पूर्व पश्चिम राजमार्गमा कुकर बम भेटिएको थियो । प्रहरीले मोरङको मिक्लाजुङ, केराबारी, इटहरी, धरान, बिर्तामोडका विभिन्न स्थानमा बम विष्फोट गराएको आरोप लगाएको छ । गत १० माघमा मोरङ मिक्लाजुङ गाउँपालिका १ साकेलाथानमा ३ वटा स्काभेटरमा बम बिस्फोट र आगजनी भएको थियो । १० माघमा मोरङ केरावारी गाउँपालिका १० स्थित गाउँपालिकाको कार्यालयमा र १२ माघमा केराबारी–२ स्थित एनसेल टावरमा बम विष्फोट भएको थियो । २३ भदौंमा झापा बिर्तामोड २ चारपानेमा रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको निर्माणाधिन भवनमा पनि विष्फोट भएको थियो । २० भदौमा सुनसरी इटहरी ९ मा रहको सुष्मा गोदावरी स्कुलको कम्पाउण्डमा र सोही दिन धरान– १९ स्थित वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको कम्पाउण्डभित्र रहेको दिल्ली पब्लिक स्कूलको गेटमा बम बिष्फोट भएको थियो । उनीमाथि संखुवासभा र भोजपुर जिल्लामा हातहतियार सम्बन्धी विभिन्न घटनामा संलग्न भएको प्रहरीको आरोप छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्