भद्रपुर, असार ३१ । झापाको कचनकवल गाउँपालिकाको छैटौं गाउँसभाले चालु आर्थिक वर्ष ०७७–७८ का लागि ५३ करोड ८९ लाख ६० हजार एक सय रूपैयाको बजेट बहुमतले पारित गरेको छ । गाउँपालिकाको असार १० गतेबाट सुरू भएको गाउँसभा अन्त्य गर्दै परिषद सदस्यहरूको बुधवार बसेको बन्दसत्रको बहुमतले बजेट पारित गरेको हो ।

गाउँसभा

बजेटलाई उपाध्यक्ष निमसरी राजवंशीले लिखित प्रतिवेदनमार्फत सार्वजानिक गरेकी थिइन् । उपाध्यक्ष राजवंशीले सार्वजनिक गरेको प्रतिवेदन अनुसार पूजीँगततर्फ २५ करोड ६६ लाख १८ हजारसहित ५३ करोड ८९ लाख ६० हजार एक सय रूपैयाको बजेट विनियोजन गरिएको छ ।
गाउँपालिका अध्यक्ष अञ्जार आलमको अध्यक्षतामा सम्पन्न भएको सभा सुरू हुनेवित्तिकै ४ जना वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरूले आफ्ना वडामा आउने ६० लाख बजेटबाट १० लाखमा झारिएको भन्दै सभा बहिस्कार गरेका थिए ।
वडा नम्बर २ का वडाध्यक्ष मेखबहादुर भट्टराइले वजेट पेस गर्न गाउँपालिका उपाध्यक्ष रोस्टममा जान लाग्दा कार्यपालिका बैठकमा भएको सहमतिविपरित अध्यक्ष, उपाध्यक्षले बजेट तयार गरेकोप्रति आपत्ति जनाउँदै विपक्षी दल भनेर विभेद गरेको ठहर गर्दै गाउँसभा बहिस्कारको घोषणा गरेका थिए । यसरी गाउँसभा बहिस्कार गर्ने वडाध्यक्षहरूमा ४ नम्वरका वडाध्यक्ष प्रमानन्दसिंह रावजंशी, ६ नम्वर वडाध्यक्ष कुलबहादुर कार्की र ७ नम्वरका वडाध्यक्ष भरतकुमार राजवंशी रहेका छन् । त्यसैगरी नेपाली काँग्रेस र नेकपाबाट विजयी वडा सदस्यहरूले पनि राप्रपामय वजेट बनाएको भन्दै वडाध्यक्षहरूसितै बहिस्कार गरेका थिए ।

बहिष्कार गर्दै

बजेट बहिस्कारबारे प्रष्ट्याउँदै वडा नम्वर ६ का अध्यक्ष कुलबहादुर कार्की कार्यपालिका बैठकमा एक करोड वजेट मागिएकोमा प्रत्येक वडालाई ६० लाख दिने सहमति तोडेर अध्यक्ष, उपाध्यक्षले वजेट पारित गर्ने बेला १० लाखमा झारो टारेको आरोप लगाए ।
यस्तै वडा नम्वर ४ का अध्यक्ष प्रमानन्दसिंह राजवंशीले गाउँपालिका अध्यक्षले वडाध्यक्षलाई जन्मदर्ता, मृत्यु दर्ता तथा नागरिकताको सिफारिस गर्ने मात्र बनाएर विकासविहिन भूमिकामा ल्याउन खोजेको आरोप लगाए । उनले वडाको सन्तुलित विकासका लागि टोलटोलबाट ६० लाखका योजना वडा सदस्यसहित वडाध्यक्षहरूले तय गरेको भए पनि अन्तिममा वजेट कटौती गरेपछि बहिस्कारको विकल्प नभएको सुनाए ।
यता गाउँपालिका अध्यक्ष अञ्जार आलम भने अघिल्लो वर्ष दीर्घकालिन आयोजनाअन्र्तगत भएको १० करोड खर्च वापतको रकम तिनु पर्ने बाध्यताले वडामा बजेट कटौती भएको बताउँछन् । उनका अनुसार अघिल्लो आर्थिक वर्षमा प्रदेश सरकार, तथा संघीय सरकारले दिने भनेको अनुदान घटेपछि सोही अनुदानका आशमा निर्माण गरिएका आयोजनाका रकम यस वर्ष तिनु पर्ने बाध्यता आइपरेकाले वडामा बजेट घटाउनु पर्ने बाध्यता परेको हो । ७ वडा वडा रहेको कचनकवलमा ४ र ७ नम्वर वडाध्यक्षसहित ८ जना नेपाली काँग्रेसबाट निर्वाचित जनप्रतिनिधि छन् भने तत्कालीन एमालेबाट २ र ६ नम्वर वडाध्यक्षसहित ६ जना जनप्रतिनिधि निर्वाचित छन् । काँग्रेस र नेकपा सम्बद्ध जनप्रतिनिधिले बहिस्कार गरे पनि राप्रपाको बहुमत भएका कारण गाउँसभाले वजेट पारित गर्न सफल भएको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्