झापा, साउन ८ । डिभिजन वन कार्यालय झापाले विभिन्न प्रजातिका २२ हजार फलफूलका बिरुवा निशुल्क वितरण गरेको छ ।

वितरणका लागि तयार बिरुवा

आँप, लिची, अम्बा , कटहर, कागती र अनार गरी ६ किसिमका फलफूलका बिरुवा वितरण गरिएको हो । आँपमा आम्रापाली, दशहरा र माल्दह, लिचिमा सिड्लेस र साधारण खालका बिरुवा वितरण गरिएको डिभिजन वन कार्यालयका प्रमुख विष्णुलाल घिमिरेले बताए । असार १० देखि वितरण थालिएको थियो । एक जना ब्यक्तिलाई २ देखि ३ वटासम्म दिने मापदण्डअनुसार धनीपूर्जाको प्रतिलिपि पेस गर्न लगाएर बिरुवा वितरण गरिएको घिमिरेले बताए । वन कार्यालयले त्यति धेरै सँख्यामा फलफूलको बिरुवा बाँडेको यो पहिलोपटक हो ।

वन कार्यालयको नर्सरी

कार्यालयले प्रदेश सरकारको सहयोगमा प्रदेश हरित अभियान र प्रदेश वन विकास तथा व्यवस्थापन कार्यक्रम संचालन गरेको छ । त्यस कार्यक्रमअन्तर्गत यस वर्ष पनि ६ लाखको हाराहारीमा विभिन्न बिरुवा वितरण भइरहेको छ । काठ, जडिबुटी र डाले घाँसका बिरुवाहरु वितरण भइरहेको हो । वन कार्यालयसँग १० भन्दा बढी नर्सरीहरु रहेका छन् । ७ वटा सरकारी रहेका छन् भने अन्य सामुदायिक वन र ब्यक्तिसँग सहकार्य गरी संचालन गरिएका छन् । आफ्नै उत्पादनसँगै टेण्डर आव्हान गरी खरिद प्रक्रियाबाट बिरुवा किनेर वितरण गर्ने गरिएको घिमिरेले जनाएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्